वीरगञ्ज । यातायात कार्यालय, सवारी अनुमति पत्र पर्सामा कार्यरत अधिकृत कमल राज गौतममाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साढे दुई करोड रुपैयाँभन्दा बढी अकुत सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।
अख्तियारका अनुसार गौतमले पदीय मर्यादा विपरीत गैरकानुनी ढंगले सम्पत्ति आर्जन गरेको उजुरीका आधारमा गरिएको अनुसन्धानबाट स्रोत नखुलेको २ करोड ५१ लाख ७८ हजार ६ सय ८७ रुपैयाँ ७१ पैसाको सम्पत्ति देखिएको हो। उनले २०५५ सालमा सरकारी सेवा प्रवेश गरी २०७९ सालको चैतसम्मको अवधिमा वैध आयभन्दा धेरै सम्पत्ति आर्जन गरेको अख्तियारको दाबी छ।
गौतममाथि भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कारबाही प्रक्रिया अघि बढाउँदै उक्त सम्पत्ति जफतसहित बिगो दाबी गर्दै विशेष अदालतमा आरोपपत्र दर्ता गरिएको अख्तियारका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले जानकारी दिए।
यस्तै, उनले आर्जन गरेको सम्पत्तिको केही हिस्सा श्रीमती सरला नेपालको नाममा राखी विवरण लुकाएको पाइएको छ। त्यसैले श्रीमती नेपाललाई समेत प्रतिवादी बनाइएको अख्तियारले जनाएको छ।
