वीरुगञ्ज । सेवाग्राहीको चाप बढेपछि जिल्ला प्रशासन कार्यालय पर्साले राष्ट्रिय परिचयपत्र विवरण संकलन सेवाको समय बढाएको छ । अब असार ४ गते (भोली) देखि सार्वजनिक बिदाबाहेक हरेक दिन बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म सेवा उपलब्ध हुने प्रशासनले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत दीपक कुमार पटेलका अनुसार, सेवा लिने नागरिकको भीड दिनदिनै बढ्दै गएकाले कार्यसमय बढाएर सेवा प्रवाहलाई सहज बनाउने निर्णय गरिएको हो । “अहिले सेवा लिनेहरूको घुइँचो लाग्न थालेको छ, यसले लामो समय पर्खनुपर्ने स्थिति निम्तिएको थियो,” पटेलले भने, “अब विस्तारित समयले सेवाग्राहीलाई सुविधा मिल्नेछ ।”
यसअघि वीरगञ्ज महानगरपालिकामा राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्न स्टेसन स्थापना गरिएको थियो । तर त्यहाँ सेवामा असन्तुष्टि बढेपछि प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको निर्देशनमा सो स्टेसन हटाएर जिल्ला प्रशासन कार्यालयमै सेवा एकीकृत गरिएको थियो । सोही कारण अहिले प्रशासन कार्यालयमा सेवाग्राहीको चाप अझै बढेको हो ।
