बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१५ डुमरवानास्थित विशेष आर्थिक क्षेत्र (सेज) को खेतमा रहेको कुलोमा एक युवक मृता अवस्थामा फेला परेका छन् ।
स्थानीय ३० वर्षीय ट्र्याक्टर चालक वीरेन्द्र माझीको शव फेला परेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक दिवस कुँवरले जानकारी दिएका छन् । आज शनिबार बिहान धान वा अन्य कामले खेततर्फ गएका स्थानीय बासिन्दाले कुलोमा शव देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए ।
पारिवारिक स्रोतबाट प्राप्त जानकारी अनुसार ट्र्याक्टर चलाएर जीविकोपार्जन गर्दै आएका माझी शुक्रबार साँझ घरबाट बाहिर निस्किएका थिए। त्यसपछि उनी घर फर्केका थिएनन् ।
घटना शङ्कास्पद रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनास्थल नजिकै नयाँ कपडासहितको झोला समेत फेला परेको प्रहरीले जनाएको छ। घटना घटेलगत्तै मृतककी श्रीमती पनि सम्पर्कमा नरहेको खुल्न आएको छ । शवलाई परीक्षणका लागि पठाउने र घटनाको विभिन्न कोणबाट अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।
