२३ कात्तिक, बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–६ घुसुकपुर टेंढामा पटका पड्काउने क्रममा एक १६ वर्षीय किशोर गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाराले दिएको जानकारी अनुसार आइतबार राति करिब १०:३० बजेको समयमा आफ्नै घरको आँगनमा पटका पड्काउने बालबिशेष क्रियाकलाप गर्दा महम्मद समसाद मियाँ देवानका १६ वर्षीय छोरा अफ्ताब मियाँ देवान घाइते भएका हुन् ।
अचानक पटका पड्किँदा लागेको चोटका कारण किशोरको दुवै तिघ्रा र लिङ्गमा गम्भीर रूपमा जलन (पोलेको) भएको प्रहरीले जनाएको छ । घटनालगत्तै घाइते किशोरलाई तत्कालिक उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा भर्ना गरिएको छ । वर्तमानमा उनको स्वास्थ्य अवस्था मध्यम रहेको अस्पताल तथा प्रहरीले बताएको छ ।
घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जितपुरबाट प्रहरी सहायक निरीक्षक तेजनारायण बैठाको कमाण्डमा खटिएको प्रहरी टोलीले घटनास्थल पुगी आवश्यक अनुसन्धान तथा मुचुल्का उठाएको छ ।
तिहार तथा चाडपर्वको समयमा पड्काउने पटका जस्ता विस्फोटक तथा अति प्रज्वलनशील पदार्थहरूको प्रयोगले निम्त्याउने यस्ता दुर्घटनाहरूप्रति सतर्क रहन स्थानीय प्रशासनले सबैमा आग्रह गरेको छ ।
