सिरहा । सिरहा प्रहरीले विभिन्न समयमा चलाइएको विशेष सुरक्षा कारबाहीका क्रममा बरामद गरिएका करिब डेढ लाख रुपैयाँ मूल्य बराबरका अवैध पटाकाजन्य पदार्थ नष्ट गरेको छ । चाडपर्वका बेला हुन सक्ने सम्भावित दुर्घटना र जोखिम न्यूनीकरण गर्न प्रहरीले यस्तो कदम चालेको हो ।
जिल्ला प्रहरी कार्यालय सिरहा तथा मातहतका विभिन्न कार्यालयहरूबाट खटिएको टोलीले बजार क्षेत्र तथा सीमावर्ती क्षेत्रबाट नियन्त्रणमा लिएका ती विस्फोटक तथा पटाकाजन्य सामग्रीहरू नष्ट गरेको जनाएको छ ।
प्रहरीका अनुसार अन्दाजी १ लाख ५० हजार रुपैयाँ बराबरका विभिन्न प्रकारका पटाका तथा विष्फोटक सामग्रीहरू सिरहा नगरपालिका–६ स्थित कमला नदीको किनारमा ठूलो खाल्डो खनेर पुरिएका हुन् ।
स्थानीय जनप्रतिनिधि, बुद्धिजिवी, सञ्चारकर्मी तथा सुरक्षाकर्मीहरूको रोहवरमा उक्त अवैध पटाकाहरू विधिवत् रूपमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ ।
चाडपर्वको समयमा पटाकाको अवैध ओसारपसार, भण्डारण, बिक्रीवितरण तथा प्रयोगले ठूलो धनजनको क्षति, आगलागी र अन्य गम्भीर दुर्घटना निम्त्याउने जोखिम रहने हुनाले प्रहरीले यस्ता गतिविधिहरूलाई पूर्ण रूपमा नियन्त्रण गर्न निगरानी र छड्के जाँचलाई थप कडा पारिएको स्पष्ट पारेको छ । अवैध कारोबारमा संलग्नहरूमाथि थप कानुनी कारबाहीको प्रक्रियासमेत अघाइने प्रहरीको चेतावनी छ ।
