वीरगञ्ज । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि औपचारिक रूपमा सुरु भएको छ । तराई मधेसका वीरगञ्जसहितका क्षेत्रहरूमा यस पर्वको पहिलो दिन धनतेरस मनाउने परम्परा रहेको छ ।
सामान्यतया चन्द्रमासको कात्तिक कृष्णपक्षको त्रयोदशी तिथिदेखि कात्तिक शुक्लपक्षको द्वितीयासम्म पाँच दिन मनाइने यो पर्व यसपटक तिथिको घटबढका कारण छ दिनको भएको छ ।
तराई मधेसको परम्परामा कात्तिक कृष्णपक्षको त्रयोदशी तिथिका दिन साँझपख दीप प्रज्वलन गर्दै घरमा धातुका नयाँ भाँडाकुँडा वा गरगहना किनेर पूजा गरिने परम्परा छ । आज सूर्योदय हुँदा द्वादशी तिथि रहे पनि मध्याह्नअघि नै त्रयोदशी लाग्ने भएकाले धनतेरस मनाइने पण्डित छविरमण सुवेदीले जानकारी दिए ।
तराई मधेस क्षेत्रमा बोलीचालीमा ‘दिवाली’ भनिने दीपावली पर्वको पहिलो दिन धनधान्यकी देवी लक्ष्मीलाई प्रसन्न गराउन धातुका गहना र भाँडा किनेर घरमा लक्ष्मी स्थापना गरी धनतेरस मनाइने तराई मधेसको परम्परा छ ।
धनतेरसका दिन धातुका सामान (भाँडाकुँडा र गहना), खरेटो, धनियाँसहितका सामग्री नयाँ किन्ने विशेष प्रचलन रहँदै आएको छ । आज बिहान ११ बजेर १० मिनेटपछि त्रयोदशी तिथि सुरु भई भोलि शनिबार बिहान १० बजेर ४७ मिनेटसम्म रहने पञ्चाङ्गलाई उद्धृत गर्दै पण्डित सुवेदीले स्पष्ट पारे । त्रयोदशीकै दिन गरिने कागपूजा र धन्वन्तरी जयन्ती भने शनिबार परेको छ ।
दीपावली पर्व आगामी बुधबार तराई मधेसको परम्पराअनुसार भैयादूज मनाइएपछि सम्पन्न हुनेछ । पञ्चाङ्ग अनुसार आइतबार बिहान चतुर्दशी तिथिमा कुकुर पूजा र सोही दिन साँझ हर्षोल्लासका साथ लक्ष्मीपूजा गरिनेछ ।
