२२ कात्तिक, काठमाडौं । कर्णाली प्रदेशमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतका खेलहरू आगामी मङ्सिर ८ गतेबाटै सञ्चालन हुने भएका छन् ।
प्राविधिक समितिबाट अनुमोदित खेल तालिकाअनुसार मङ्सिर ८ गते पहिलो चरणमा पुरुष तथा महिला क्रिकेट, पुरुष फुटबल, पुरुष तथा महिला ह्यान्डबल, महिला बास्केटबल, टेनिस र पौडी प्रतियोगिताका प्रतिस्पर्धा सुरु हुनेछन् । प्रतियोगिताको औपचारिक उद्घाटन भने मङ्सिर १६ गते नवनिर्मित सुर्खेत रङ्गशालामा भव्य समारोहबीच हुनेछ भने समापन समारोह मङ्सिर २७ गते हुने तय गरिएको छ ।
यस पटकको राष्ट्रिय खेलकुदमा कुल ३२ वटा खेलहरू समावेश गरिएका छन्, जसमध्ये २३ वटा खेलहरू मात्रै मुख्य आयोजक जिल्ला सुर्खेतमै हुने निश्चित भएको छ । सुर्खेतमा एथ्लेटिक्स, क्रिकेट, फुटबल, भलिबल, कबड्डी, कराते, बक्सिङ, उसु, तेक्वान्दो, भारत्तोलन, रग्बी र ईस्पोर्ट्सलगायतका प्रमुख खेलहरू हुनेछन् ।
बाँकी खेलहरू भने अन्य जिल्लाहरूमा विभाजन गरिएका छन्, जसमा बर्दियामा टेनिस र खो खो, सल्यानमा जुडो र कुस्ती, पश्चिम रुकुममा शारीरिक सुगठन, दैलेखमा आईटीएफ तेक्वान्दो, कालिकोटमा बुद्धिचाल तथा नेपालगञ्जमा पौडी र सुटिङ खेलहरू सञ्चालन हुनेछन् । लुम्बिनी प्रदेशका दुई जिल्लामा खेलहरू तय गरिए पनि कर्णाली प्रदेशका हुम्ला, जुम्ला, जाजरकोट, मुगु र डोल्पामा भने यसपटक कुनै पनि खेल राखिएको छैन ।
