वीरगञ्ज । गणतन्त्र दिवस २०८२ को अवसरमा वीरगञ्ज कारागारमा एक विशेष र अर्थपूर्ण बृहत रक्तदान कार्यक्रम सम्पन्न भए को छ । डा. गोबिन्द बहादुर थापा स्मृति प्रतिष्ठान र प्रभु हस्पिटल वीरगञ्जको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा कुल १४० जनाले रक्तदान गरेका थिए, जसमा ३ जना महिला कैदी र ३ जना शसस्त्र प्रहरी समेत सहभागी थिए ।
रक्तदानमा कैदीबन्दी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा सामाजिक सेवा र मानवता प्रतिको प्रतिबद्धता झल्किने संयोजक दिलीपराज कार्कीले बताए ।
कार्यक्रममा प्रमुख अतिथि स्वरूप वीरगञ्ज कारागारका जेलर रुपक मण्डल, पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी गौतम मिश्र, ट्राफिक प्रहरी प्रमुख लिकराज भट्ट र वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख निरोज चौलागाईंको उपस्थिति रहेको थियो ।
रक्तदातामध्ये दीपक महतो, अशोक लोहार, पवन कुमार झा, जोतिलाल साह, राजेश सहनी, राधेश्याम पटेल, गुडु यादव लगायतका व्यक्तिहरूले आफ्नो अमूल्य योगदान दिएका थिए ।
रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभराज पाण्डे, नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष गुप्ता र महेश सिंह धामीको पनि विशेष उपस्थिति रहेको कार्यक्रमले वीरगञ्जको सामाजिक चेतना र सहकार्यलाई अझ मजबुत बनाएको छ ।
