काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा मंगलवार बिहान जारी खेलमा लुम्बिनी लायन्सले आकर्षक ब्याटिङ गर्दै लयमा फर्किएको संकेत दिएको छ । आजको खेलमा टस हारेर चितवन राइनोज विरुद्ध ब्याटिङ गर्दै लुम्बिनीले १६८ रनको लक्ष्य दिए को छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा लुम्बिनीले पूरै ओभर खेलेर ६ विकेटको क्षतिमा १६७ रन बनाएको हो । लुम्बिनीका लागि कप्तान रोहित कुमार पौडेलले अर्धशतकीय इनिङ खेले ।
उनले ५७ बलमा ६ चौका र ५ छक्का प्रहार गर्दै ८० रनको योगदान दिए । साद बिन जफरले ५२ रन बनाए । उनले ३५ बलमा ४ चौका र १ छक्का प्रहार गरे । सुरुवातमा ४ विकेट गुमाएर धरापमा आएको लुम्बिनीको ब्याटिङलाई रोहित र जफरको साझेदारीले सन्तुलित बनायो ।
५ विकेटका लागि ६४ बलमा रोहित र जफरले १०० रनको साझेदारी पूरा गरे । अर्जुन साउदले १५ रन बनाउँदा आशुतोष घिरैया १ र उन्मुक्त चन्द शून्यमा आउट भए । चितवनका लागि रिजन ढकालले ३ तथा कुशल मल्ल र रञ्जित कुमारले १–१ विकेट लिए ।
