काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आज बिहीबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई वटा खेलहरू हुँदैछन् । लिग चरणका यी खेलहरूले अंक तालिकाको समीकरणमा थप फेरबदल ल्याउने अपेक्षा गरिएको छ ।
आजको पहिलो खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ, जहाँ साविक विजेता तथा अंक तालिकाको शीर्ष स्थानमा रहेको लुम्बिनी लाइन्स र चौथो स्थानको जनकपुर बोल्ट्स आमने-सामने हुनेछन् । लुम्बिनी हालसम्म उत्कृष्ट लयमा रहँदै ३ खेलमा २ मा जित र एक खेल वर्षाका कारण रद्द हुँदा बाँडेको अंकसहित कुल ५ अंकका साथ शीर्ष स्थानमा कायम छ ।
यता, जनकपुर बोल्ट्सले भने ४ खेल खेल्दै २ मा जित र २ मा हार बेहोरेको छ। बलियो लुम्बिनीविरुद्ध जनकपुरलाई आफ्नो स्थिति सुदृढ पार्न कडा मेहनत गर्नुपर्नेछ ।
त्यसैगरी, आजै अपराह्न साढे ४ बजे हुने दोस्रो खेलमा विराटनगर किंग्स र काठमान्डु गोर्खाज बीच प्रतिस्पर्धा हुनेछ । अंक तालिकाको दोस्रो स्थानमा रहेको विराटनगरले ४ खेल खेल्दा २ मा जित र २ मा हार व्यहोरेको छ भने सातौँ स्थानमा रहेको काठमान्डु गोर्खाजले २ खेलमा १ मा जित र १ मा हारको नतिजा निकालेको छ। प्रतियोगितामा आफ्नो पकड बलियो बनाउन दुवै टिमलाई आजको खेलमा जित निकाल्नै पर्ने दबाब रहेको छ ।
