काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज शनिबार एउटा मात्र खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजे सुरु हुने प्रतिस्पर्धामा काठमाडौँ गोर्खाज र अंक तालिकाको शीर्ष स्थानमा रहेको लुम्बिनी लायन्स आमने-सामने हुनेछन् ।
प्रतियोगितामा हालसम्म अपराजित रहेको लुम्बिनी लायन्स ७ अंकका साथ तालिकाको शीर्ष स्थानमा सुरक्षित छ। लुम्बिनीले ४ खेलमध्ये ३ खेलमा सानदार जित निकालेको छ भने एक खेल वर्षाका कारण रद्द हुँदा अंक बाँडेको थियो । आफ्नो उत्कृष्ट लयलाई कायम राख्दै शीर्ष स्थान थप मजबुत बनाउने लक्ष्यका साथ लुम्बिनी मैदान उत्रनेछ ।
अर्कोतर्फ, काठमाडौँ गोर्खाज पनि बलियो स्थितिमा देखिएको छ । ३ खेल खेलेको काठमाडौँले २ मा जित र १ मा हार बेहोर्दै ४ अंकका साथ तालिकाको चौथो स्थान ओगटेको छ।
आजको खेलमा जित निकाल्न सके काठमाडौँ अंक तालिकाको दोस्रो स्थानमा उक्लनेछ । त्यसैले अपराजित लुम्बिनीको जितको यात्रा रोक्दै आफ्नो स्थिति सुधार गर्ने ध्येयमा काठमाडौँ रहनेछ। साँझको फ्लडलाइटमा हुने यो प्रतिस्पर्धा निकै रोचक हुने अपेक्षा गरिएको छ ।
