काठमाडौं । एसिसी महिला एसिया कप क्रिकेट खेलेर नेपाली राष्ट्रिय महिला क्रिकेट टिम स्वदेश फर्किएको छ । बिहीबार स्वदेश फर्किएको नेपाली टोलीलाई क्रिकेट संघ क्यानका पदाधिकारीले बिमानस्थलमा स्वागत गरेका थिए । आठ टिम सहभागी प्रतियोगिताको समूह ‘ए’मा रहेको नेपालले तीन खेल खेलेको थियो ।
समूह चरणका तीन खेलमा एक जित र दुई हार खाएको नेपालले भारत र पाकिस्तानजस्ता बलिया प्रतिद्वन्द्वीसँग खेलेको थियो । नेपाल फर्किएपछि नेपाली राष्ट्रिय महिला क्रिकेटकी कप्तान इन्दु बर्मा एसिया कप जस्तो ठूलो खेल खेल्न पाउदा निकै उत्साहित भएको बताउनुभयो ।
उहाले खेलमा सक्दो प्रयास गरेपनि सोचेजस्तो नजिता हासिल गर्न नसकिएको जिकिर गर्नुभयो । बर्माले फिटनेश, बलिङ र व्याटिङमा निकै सुधार गर्नुपर्ने देखिएको उल्लेख गर्नुभयो ।
नेपाली टिमले समूह चरणको पहिलो खेलमा यूएईमाथि ६ विकेटको जित निकालेको थियो । दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले पराजित भएको नेपाल तेस्रो खेलमा भारतसँग ८२ रनले पराजित भएको थियो ।



