काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज शुक्रबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई वटा खेल हुँदैछन् । लिग चरणका खेलहरू रोमाञ्चक मोडमा पुगिरहँदा प्लेअफको यात्रा तय गर्न र अङ्क तालिकामा आफ्नो स्थिति बलियो बनाउन चारै वटा टोलीबीच प्रतिस्पर्धा हुनेछ ।
आजको पहिलो खेलमा दिउँसो १२:३० बजे काठमान्डौं गोर्खाज र सुदूरपश्चिम रोयल्स आपसमा भिड्नेछन् । जारी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेको काठमान्डौं गोर्खाज ५ खेलबाट ४ जित र १ हारसहित ८ अङ्कसहित अङ्क तालिकाको दोस्रो स्थानमा मजबुत स्थितिमा छ ।
यसैगरी, ६ खेल खेलेको सुदूरपश्चिम रोयल्स ४ मा जित र २ मा हार बेहोर्दै ८ अङ्कसँगै तेस्रो स्थानमा रहेको छ। दुवै टोली शीर्ष स्थानको होडमा कायम रहन आजको खेलमा जित निकाल्ने दाउमा हुनेछन् ।
त्यसैगरी, आजै दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्स आमनेसामने हुनेछन् । चितवन राइनोज ५ खेलमा २ जित, २ हार र १ खेल वर्षाका कारण रद्द हुँदा अङ्क बाँड्दै ५ अङ्कसहित अङ्क तालिकाको पाँचौँ स्थानमा रहेको छ ।
उता, गत चरणहरूमा दबाबमा रहेको जनकपुर बोल्ट्स ६ खेल खेल्दा ४ हार र २ जितसहित ४ अङ्क जोड्दै अङ्क तालिकाको छैटौँ स्थानमा छ । जनकपुरलाई प्लेअफको सम्भावना जिवित राख्न आजको खेलमा जित्नैपर्ने दबाब रहेको छ भने चितवन पनि आफ्नो स्थिति सुधार गर्न मैदान उत्रनेछ ।
