वीरगञ्ज । पर्साको केहुनिया स्थित नेपाल–भारत सीमा क्षेत्रबाट अवैध रूपमा नेपाल भित्र्याइएको ठूलो परिमाणको बोइलर कुखुराको चल्ला सुरक्षाकर्मीले बरामद गरी नष्ट गरेका छन् ।
प्रहरीका अनुसार, करिब ४,००० वटा चल्लासहितको मोटरसाइकल छाडेर तस्कर फरार भएका हुन् । वीरगन्ज महानगर पालिका–१९, केहुनियामा खटिएको नम्बर १३ गणको टोलीले भारतबाट आउँदै गरेको ना ४१ प ४२२ नम्बरको मोटरसाइकलमा लुकाएर ल्याइएका चल्ला फेला पारेको थियो । सुरक्षाकर्मीलाई देख्नेबित्तिकै मोटरसाइकल चालक फरार भएपछि प्रहरीले मोटरसाइकल र चल्ला नियन्त्रणमा लिएको थियो।
बरामद गरिएका चल्लाहरूको अनुमानित मूल्य रु १ लाख रहेको बताइएको छ। सुरक्षाकर्मीले ती चल्लालाई स्थानीय पत्रकार, जनप्रतिनिधि, नेपाल प्रहरी र पशु क्वारेन्टाइन कार्यालयका प्रतिनिधिको रोहबरमा खाडल खनेर नष्ट गरेका छन् ।
यस घटनापछि सीमा क्षेत्रमा अवैध गतिविधि नियन्त्रण गर्न सुरक्षा व्यवस्था थप कडा पारिएको नम्बर १३ गणले जानकारी दिएको छ। बरामद गरिएको मोटरसाइकललाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको छ।
