वीरगञ्ज । बाराको जीतपुरसिमरा क्षेत्रमा तीन महिनादेखि आतंक मच्चाउँदै तीन जनाको ज्यान लिने बाघलाई अन्ततः नियन्त्रण मा लिइएको छ । शुक्रबार बिहान पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत आधाभार जंगलमा देखिएको बाघलाई डार्ट प्रहार गरेर बेहोस बनाई नियन्त्रणमा लिइएको हो । उक्त कारबाही राष्ट्रिय प्रकृति संरक्षण कोष चितवन, जेडएसएल (ZSL) का विज्ञ टोली, प्रहरी र स्थानीय जनप्रतिनिधिको संयुक्त प्रयासमा सम्पन्न भएको हो ।
जीतपुरसिमरा–२१ का वडाध्यक्ष सुवास श्रेष्ठका अनुसार बाघलाई बेहोस बनाएर निकुञ्जको कार्यालयस्थित खोरमा राखिएको छ । यसअघि बाघको आक्रमणबाट असारमा जीतपुरसिमरा–१ का ५५ वर्षीय छेवाङ लामा, भदौमा वडा नं २२ का ६० वर्षीय कृष्णप्रसाद शर्मा र वडा नं २१ का ४५ वर्षीय चन्द्रबहादुर ब्लोनको ज्यान गएको थियो ।
मानव बस्ती नजिकै बारम्बार देखापर्दै आक्रमण गरेपछि स्थानीयवासीमा ठूलो त्रास फैलिएको थियो । बाघ नियन्त्रणमा आएपछि स्थानीयले राहतको सास फेरेका छन् । यद्यपि, पर्सा राष्ट्रिय निकुञ्ज प्रशासनले जंगल आसपास आवतजावत गर्ने बेलामा सतर्क रहन आग्रह गरेको छ ।
