जनकपुर । जनकपुरका चर्चित कलाकार अविनाश झा ’कलकतियाबाली’की पत्नी अँसा सदा आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छिन् । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२० स्थित नोचापुरमा सोमबार राति उनी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
गत माघ महिनामा अन्तरजातीय विवाह गरेका अविनाश झा र अँसा सदा केही महिनाअघि मात्रै विधिपूर्वक गृहप्रवेश गरेका थिए। सामाजिक सञ्जालमा उनीहरू दुवैले एकआपसप्रतिको प्रेम र समर्पण खुल्दै आएकाले सोमबार राति अचानक अँसा सदा मृत अवस्थामा फेला परेपछि स्थानीय क्षेत्रमा सनसनी फैलिएको छ ।
घटनास्थलमा अहिले प्रहरीको टोली परिचालित छ भने मुचुल्का उठाउने काम अगाडि बढाइएको छ । धनुषा प्रहरीका प्रवक्ता डीएसपी वरुणबहादुर सिंहका अनुसार, “मृतकको माइती पक्ष नआएकोले शव परीक्षणको प्रक्रिया अघि बढ्न सकेको छैन । उनीहरू आएपछि पोष्टमार्टम हुनेछ ।“
प्रहरीले हालसम्म आत्महत्याको आशंका गरिरहेको बताएको छ । यद्यपि, पोष्टमार्टम रिपोर्ट नआएसम्म निश्चित भन्न नसकिने जनाएको छ । घटनापछि कलाकार अविनाश झा गहिरो मानसिक तनावमा रहेको देखिएको छ ।
उनी अहिले स्पष्ट रूपमा बोल्न सक्ने अवस्थामा नरहेको प्रहरीले जनाएको छ । नोचा पोखरी नजिकैको घटनास्थलमा भीड लागेपछि जनकपुरधाम उपमहानगरपालिका–१२ र २० क्षेत्रका स्थानीयवासी त्रसित बनेका छन् । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



