वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि अ अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ। सोमबार वीरगञ्ज महानगरपालिकाको नगरसभाको १७ औं अधिवेशनमा महानगरका उपमेयर इम्तियाज आलमले यो बजेट प्रस्तुत गरेका हुन् ।
चालु आर्थिक वर्षको २ अर्ब ८९ करोड ४८ लाख १७ हजार रुपैयाँको तुलनामा आगामी आर्थिक वर्षका लागि झन्डै ३३ करोड रुपैयाँ बढी बजेट ल्याइएको हो । उपमेयर आलमले प्रस्तुत गरेको बजेटमा चालु खर्चतर्फ २ अर्ब २६ करोड ५० लाख ४९ हजार ९७०.२४५०, पुँजीगत खर्चतर्फ ९२ करोड ३४ लाख ९२८.६४५० र वित्तीय व्यवस्थापनतर्फ ३ करोड ६४ लाख ९१.१२५० छुट्याइएको छ ।
बजेटको स्रोतका रूपमा उपमेयर आलमले आन्तरिक राजस्वबाट १ अर्ब १५ करोड, संघीय अन्तर सरकारी वित्तीय हस्तान्तरण बाट १ अर्ब ३७ करोड ३० लाख, संघीय राजस्व बाँडफाँटबाट २३ करोड ७८ लाख, प्रदेश अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट ५ करोड २ लाख ८८ हजार, प्रदेश राजस्व बाँडफाँटबाट १ करोड ६७ लाख १३ हजार, घरजग्गा रजिष्ट्रेशन शुल्कबापत २५ करोड र नगद मौज्दातबाट १५ करोड व्यहोरिने जानकारी दिए ।
उपमेयर आलमले आगामी आर्थिक वर्षको बजेटका प्राथमिकतामा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सरसफाइ, वातावरण संरक्षण, गुणस्तरीय भौतिक पूर्वाधार र डिजिटलमैत्री सेवा प्रवाह रहेको पनि बताए ।
नगरसभा प्रारम्भमा महानगर प्रमुख राजेशमान सिंहले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । सिंहको अध्यक्षतामा सम्पन्न नगरसभामा प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्ण, ३२ वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्यहरू, कर्मचारी, सञ्चारकर्मी लगायतको उपस्थिति थियो ।
