वीरगञ्ज । चार जना नेपाली युवतीलाई भारततर्फ लैजाँदै बेचबिखन गर्न खोजिरहेका एक व्यक्ति पर्साबाट प्रहरीले पक्राउ गरेको छ । मानव बेचबिखनको गम्भीर आरोपमा चितवन माडी नगरपालिका–८ का ४१ वर्षीय दीपक खड्का पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार खड्काले इलाम र रोल्पाका युवतीहरूलाई विदेश रोजगारीका नाममा प्रलोभन देखाउँदै भारततर्फ लैजाँदै थिए । उनले युवतीहरूलाई ‘फ्रि भिसा र फ्रि टिकट’मा दुबई र ओमान पठाइदिने भन्दै फकाएको खुल्न आएको छ ।
बुधबार पर्साको ठोरी गाउँपालिका–२ स्थित ठोरी बजार नजिकबाट खड्कालाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका खड्कासँग २०८१/२०८२ सालमा जारी गरिएको चारवटा परिचयपत्रसहित ‘जिर्मल’ र ‘उकाला’ नामक व्यक्तिका नाममा परिवर्तन गरिएको विवरण फेला परेको प्रहरीले जनाएको छ । ती परिचयपत्रहरूमा चार युवतीको विवरण रहेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालका अनुसार खड्कामाथि मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ । उनलाई पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
