धनुषा । धनुषामा नेकपा एमालेको आठौं जिल्ला अधिवेशनमा भएको विवादले राजनीतिक वातावरण तनावग्रस्त बनेको छ । वैशाख २० गतेदेखि जनकपुरधाममा जारी अधिवेशनमा अन्तिम नामावली प्रकाशनको विषयलाई लिएर उत्पन्न विवादले उग्र रुप लिँदा कुर्सी हानाहानको स्थिति सिर्जना भएको छ । निर्वाचन समितिमाथि केही आक्रोशित नेता कार्यकर्ताहरूले कुर्सी प्रहार गरेपछि स्थिति थप जटिल बनेको छ ।
सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि निर्वाचन प्रक्रिया सुरु गरिएको थियो । अध्यक्ष पदका लागि भोला यादव र लक्ष्मी नारायण यादवले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार राति नै मनोनयन दर्ता भए पनि उम्मेदवारको अन्तिम नामावलीमा नाम थपघट भएको पाइएपछि विवाद चर्किएको हो ।
उपाध्यक्ष, सचिव र उपसचिव पदका लागि पनि विभिन्न नेताहरूले उम्मेदवारी दिएका छन् । अधिवेशनबाट पाँच पदाधिकारी सहित १३५ सदस्यीय जिल्ला कमिटी चयन हुने कार्यक्रम रहेको छ ।
निर्वाचन समितिले मंगलबार बिहान साढे ८ बजेदेखि मतदान सुरु गर्ने समय तोकेको भए पनि तयारी नपुगेको भन्दै १० बजेसम्मका लागि सारिएको थियो । तर, अन्तिम नामावलीको विवादका कारण मतदान अझै सुरु हुन सकेको छैन ।
भोला यादव पक्षले तत्काल मतदान सुरु गर्न माग गरिरहेको छ भने लक्ष्मी नारायण यादव पक्ष भने धर्नामा बसेको छ । यस घटनाले पार्टीभित्रको आन्तरिक कलहलाई सतहमा ल्याएको छ ।
६३५ जना मतदाता रहेको यस अधिवेशनको परिणामले धनुषाको राजनीतिक भविष्यलाई प्रभावित पार्ने देखिन्छ । यस घटनाले पार्टीको एकता र साङ्गठनिक सुदृढीकरणमा गम्भीर चुनौती खडा गरेको छ ।
