रौतहट । रौतहटमा आज बिहान कार र मोटरसाइकल एक आपसमा ठोक्किएर भएको सवारी दुर्घटनामा बाबुछोरीको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पर्ने रौतहटको चन्द्रपुर नगरपालिका ४ पश्चिम लचकामा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको कार र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मोटरसाइकल एक आपसमा ठोक्किएर भएको सवारी दुर्घटनामा मोटरसाइकलमा सवार बाबुछोरीको मृत्यु भएको हो ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा ६ च ३५२६ नम्बरको कारले चन्द्रनिगाहपुरबाट निजगढतर्फ जाँदै गरेको ना ३ प ९५१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक जिल्ला रौतहट गरुडा न.पा.३ गेडही टोल बस्ने अन्दाजी वर्ष ६० का बलिराम सहनि र सोही मोटरसाइकलमा पछाडि सवार छोरी वर्ष ४० की उर्मिला देवी सहनिको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले कार चालक हेटौंडा उपमहानगरपालिका १२ का ४३ वर्षीय कुमार पोख्रेल लाई नियन्त्रणमा लिएको इप्रका चन्द्रनिगाहपुरका डिएसपी राजकुमार राइले बताए । घटनाबारे अनुसन्धान भइरहेको र मृतक को शव पोस्टमार्टमका लागि सरकारी अस्पतालमा राखिएको डिएसपी राइले बताए ।
