जनकपुर । जनकपुरस्थित ऐतिहासिक जानकी मन्दिरमा पवित्र जानकी जन्मोत्सवका अवसरमा सोमबारदेखि औपचारिक कार्यक्रमहरू सुरु भएका छन् । मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासका अनुसार हरेक दिन दिउँसो ४ बजे श्रीराम कथा वाचन र साँझ ७ बजे गर्भगृहमा जानकी जन्म बधाई मङ्गलगान तथा विविध सांस्कृतिक कार्यक्रम सञ्चालन हुँदैछन् ।
मन्दिर परिसरमा अखण्ड रामायण पाठ पनि नियमित रूपमा जारी छ, जसले धार्मिक वातावरणलाई थप गहन बनाएको छ । जन्मोत्सवको मुख्य आकर्षण वैशाख २३ गते मंगलबार हुनेछ । सो दिन बिहान ५ बजे जानकीको शाही स्नानका लागि शोभायात्रा दूधमती नदीसम्म निस्कनेछ ।
त्यसपछि अपराह्न १२ बजे जन्म आरती तथा बधाई कार्यक्रम, दिउँसो ४ बजे भव्य डोला शोभा यात्रा, साँझ ७ बजे विशेष आरती र दीपोत्सव गरिने कार्यक्रम तय गरिएको छ ।
त्यसै दिन मानस मोहिनी सध्या देवीबाट विशेष रामकथा वाचन पनि गरिने जानकारी महन्थ दासले दिएका छन् । उनका अनुसार जानकी जन्मोत्सवलाई भव्य र भक्ति भावले सम्पन्न गर्न सम्पूर्ण जनकपुरधाममा व्यापक तयारी गरिएको छ ।



