वीरगञ्ज । बाराको जीतपुसिमरा उपमहानगरपालिका–२२ स्थित ३ नम्बर पुल नजिकै आज यात्रुवाहक बस रोकिराखेको ट्रकसँग ठोक्किएर दुर्घटना भएको छ। काँकरभिट्टाबाट पोखरातर्फ जाँदै गरेको ग २ ख १६५५ नम्बरको बस बिग्रिएर सडक छेउमा रोकिराखेको प्रदेश २–०३–००१ ख ५१८७ नम्बरको कोइला लोड भएको लहरी ट्रकको पछाडिबाट ठोक्किएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।
दुर्घटनामा बसमा सवार १९ जना यात्रु घाइते भएका छन् । इलाका प्रहरी कार्यालय सिमराका अनुसार घाइतेहरूको अवस्था सामान्य छ । प्रहरीले जनाए अनुसार, घाइतेमध्ये ९ जनाको सहकारी अस्पताल हेटौँडामा र १० जनाको वयोधा अस्पताल वीरगञ्जमा उपचार भइरहेको छ ।
ठक्करपछि बस अनियन्त्रित भई सडकबाट करिब ५ मिटर तल खसेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता विजयराज पण्डितका अनुसार दुर्घटनाग्रस्त बस र बस चालक चितवन राप्ती नगरपालिका ३ का तिलक बहादुर थापा मगरलाई इलाका प्रहरी कार्यालय अम्लेखगञ्जको नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।



