जनकपुर । वीरगञ्जमा हनुमान जन्मोत्सवको शोभायात्रामा भएको हिंसात्मक घटनाको विरोधमा जनकपुरमा आज राष्ट्रिय एकता अभियानले प्रदर्शन गर्दै गृहमन्त्री रमेश लेखकको पुतला दहन गरेका छन् । वीरगञ्जमा भइरहेको घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै अभियानले जनकपुरमा प्रदर्शन गरेको हो ।
प्रदर्शनकारीहरूले जनकपुरको मुख्य चोकमा जम्मा भएर गृह मन्त्रालयको निष्क्रियता प्रति आक्रोश व्यक्त गर्दै दोषीहरूलाई कडा कारबाहीको माग गरेका छन् । “दोषीलाई तुरुन्त गिरफ्तार गर”, “धार्मिक आक्रमण सहिँदैनौं”, “सर्वपक्षीय बैठकको नाटक बन्द गर” जस्ता नारा लगाउँदै प्रदर्शनकारीहरूले धार्मिक स्वतन्त्रतामाथिको आक्रमणलाई गम्भीर चुनौतीका रूपमा चित्रित गरे ।
राष्ट्रिय एकता अभियानका संयोजकहरूले भने, “यो कुनै सामान्य घटना होइन। यसले धार्मिक सहिष्णुता र सामाजिक सद्भावमा गम्भीर असर पार्दछ। यदि दोषीहरूलाई कडा कारबाही भएन भने हाम्रो आन्दोलन थप चर्किनेछ ।”
प्रदर्शनका क्रममा जनकपुर क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ । यता प्रशासनले घटनाको छानबिन अघि बढाइएको र दोषी लाई नछाडिने प्रतिवद्धता जनाएको छ । वीरगञ्जमा हिजो हनुमान जयन्त्रको अवसरमा निकालिएको ¥यालीमाथि हिंसात्मक आक्रमण भएको घटनाले यतिबेला तहल्का मच्चाईरहेको छ ।
