कलैया । सशस्त्र प्रहरी बलको विशेष टोलीले बाराको सिम्रौनगढबाट दुई थान कटुवा पेस्तोल र गोलीसहित एक जनालाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी इन्टेलिजेन्स ब्युरो (गुप्तचर टोली) को विशेष सूचनाका आधारमा सोमबार साँझ खटिएको बोर्डर आउट पोस्ट (बीओपी) गोलागञ्जको टोलीले सिम्रौनगढ नगरपालिका–२ सलेमपुरबाट अवैध हतियारसहित स्थानीय ५० वर्षीय जय प्रकाश कुसवाहलाई पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी बलका सह-प्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाका अनुसार शंकास्पद अवस्थामा फेला परेका कुसवाहलाई खानतलासी गर्दा उनको साथबाट २ थान कटुवा पेस्तोल र ५ राउन्ड गोली बरामद गरिएको छ। पक्राउ परेका कुसवाह सिम्रौनगढ–२ अमृतगञ्जका बासिन्दा हुन् ।
बरामद हतियार र गोलीसहित नियन्त्रणमा लिइएका कुसवाहलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि नेपाल प्रहरी (सम्बन्धित निकाय) मा बुझाउने प्रक्रिया अगाडि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ। सीमा क्षेत्रमा बढ्दो अवैध हतियार ओसारपसार नियन्त्रण गर्न सुरक्षा व्यवस्था थप कडा पारिएको छ ।
