वीरगन्ज,१४असाेज। नेपाली कांग्रेसले बुधबार आयोजित वीरगन्ज महानगरपालिकाको २१ ओैं विशेष नगरसभामा सहभागी नहुन आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई ह्वीप जारी गरेको छ।
नेपाली कांग्रेस पर्साका सचिव दिनेश चौधरीले मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै बुधबार आयोजना गरिएको विशेष नगरसभामा कांग्रेसबाट निर्वाचित उपमेयर,वडाध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यहरुलाई सहभागी नहुन ह्वीप जारी गरेको हो।
यद्यपि कांग्रेसले सहभागी नहुन ह्वीप जारी गरेको भएपनि होटल पुजनमा सुरु हुन लागेको नगरसभामा यो समाचार तयार पार्दासम्म विद्यमान १५६ मध्ये आवश्यक बहुतमत संख्या ५१ प्रतिशत भन्दा बढी अर्थात १०२ जना नगरसभा सदस्यहरु सहभागी भइसकेको मेयर राजेशमान सिंहका स्वकीय सचिव सत्यराज घिमिरेले जानकारी दिए।यो संख्या अझ थपिने क्रम जारी रहेको उनले बताए ।कांग्रेसले बहिष्कार गरेपनि नगरसभामा कांग्रेसबाट पनि निर्वाचित केही नगरसभा सदस्यहरु सहभागी भएका छन्।
मेयर राजेशमान सिंह निलम्बनमा रहेका बेला उपमेयर इम्तियाज आलमको नेतृत्वमा बजेट तयार गरिएको थियो। विशेष अदालतबाट सफाइ पाएर पदमा फर्किएपछि मेयर सिंहले उक्त बजेट खारेज गरी विशेष नगरसभामार्फत बजेट परिवर्तन गर्ने निर्णय गरेका थिए।त्यसैका लागि बुधबार विशेष नगरसभा आयोजना गरिएको हो।
मेयर सिंहले विशेष नगरसभाबाट सबै नगरवासीको आवश्यकता र हितलाई समेट्ने गरी बजेट तयार गर्ने बताएका छन्।

