वीरगन्ज १४ असोज । दैवी प्रकोप तथा बाढीबाट प्रभावित परिवारका लागि ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरले ४० बन्डल कपडा जिल्ला प्रशासन कार्यालय पर्सालाई हस्तान्तरण गरेको छ।
मानव मिलन संस्था पोखरा नेपाल, आदेश्वर जीवदया सेवा ग्रुप उधना–सूरत तथा श्री वर्धमान स्थानकवासी जैन नवयुवक मण्डल (मेवाड) उधनाको आयोजनामा सञ्चालित ‘मानवताका लागि हाम्रो अभियान’अन्तर्गत कपडा संकलन अभियानमार्फत प्राप्त कपडा हस्तान्तरण गरिएको हो।
‘कपडाबाट बढ्नेछ स्नेह, जीवनमा मिल्नेछ सहारा’ भन्ने उद्देश्यसहित सञ्चालन गरिएको अभियानबाट संकलित कपडा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पर्सालाई बुझाइएको हो।

हस्तान्तरण गरिएको ४० बन्डल कपडा जिल्ला प्रशासन कार्यालय पर्साको जिम्मामा राखिएको छ। संकलित कपडा बाढी तथा अन्य दैवी प्रकोपबाट प्रभावित परिवारको आवश्यकताअनुसार वितरण गरिने जनाइएको छ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत गरिएको उक्त सहयोगले विपद्को समयमा प्रभावित परिवारलाई आवश्यक सामग्री उपलब्ध गराउन सहयोग पुग्ने आयोजकले जनाएको छ। नेपाल प्रहरीको ‘हर प्रहर, गाउँ र नगरी–टोल टोलमा नेपाल प्रहरी’ भन्ने समुदायसँगको सहकार्यको भावनाअनुसार सामाजिक सेवा तथा मानवीय सहयोगका गतिविधिलाई निरन्तरता दिइएको ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रले जनाएको छ।
