सर्लाही । अविरल वर्षापछि सर्लाहीको मलंगवास्थित नेपाल विद्युत् प्राधिकरणको सबस्टेसन डुबानमा परेपछि १० स्थानीय तहमा विद्युत् सेवा अवरुद्ध भएको छ ।
नेपाल विद्युत् प्राधिकरण, मलंगवा वितरण शाखाका अनुसार आज बिहान करिब ४ बजेदेखि सबस्टेसनबाट आपूर्ति हुने क्षेत्रमा विद्युत् सेवा बन्द भएको हो ।
लगातारको वर्षाका कारण सबस्टेसनको स्विचयार्ड र कन्ट्रोल रुममा पानी पसेपछि विद्युत् आपूर्ति रोक्नुपरेको प्राविधिक इन्जिनियर सौरभ साहले बताए ।
उनका अनुसार सबस्टेसन क्षेत्र अझै जलमग्न रहेकाले तत्काल विद्युत् सेवा सञ्चालन गर्न सकिने अवस्था छैन । मोटर पम्पमार्फत पानी निकाल्ने काम भइरहेको छ । पानीको सतह घटेपछि प्राविधिक परीक्षण गरेर मात्र विद्युत् आपूर्ति पुनस् सञ्चालन गरिने उनले जानकारी दिए ।
नेपाल विद्युत् प्राधिकरण, मलंगवा वितरण शाखाका प्रमुख माधवेन्द्र यादवले पानी निकासको काम तीव्र रूपमा भइरहेको बताए । उनका अनुसार सबस्टेसन परिसरको पर्खालमा प्वाल पारेर पानी बाहिर निकाल्ने प्रयास गरिएको छ । बाहिरी नाला जाम भएकाले पानी निकासमा केही समस्या भएको उनले बताए ।
‘कन्ट्रोल रुमबाट पानी हटाइसकिएको छ । अहिले पंखा चलाएर उपकरण सुकाउने काम भइरहेको छ’, यादवले भने, ‘प्राविधिक परीक्षण गरेर अबको दुईदेखि तीन घण्टाभित्र विद्युत् सेवा पुनस् सुचारु हुन सक्छ ।’
विद्युत् सेवा अवरुद्ध भएपछि मलंगवासहित १० स्थानीय तहका उपभोक्ता प्रभावित भएका छन् । प्राधिकरणले पानीको निकास र प्राविधिक परीक्षणपछि सेवा पुनस् सञ्चालन गर्ने जनाएको छ ।
