लालबाबु बानियाँ
पर्सा, १४ असोज ।
वैदेशिक रोजगारीका लागि विदेश गएर फर्किएका पर्साको धोबिनी गाउँपालिका–४, लंगडीका ४० वर्षीय मुस्लिम मियाँ अहिले आफ्नै गाउँमा व्यवसाय सञ्चालन गर्दै आत्मनिर्भर बनेका छन्।
मियाँ सन् २००८ देखि २०१३ सम्म रोजगारीका लागि कतारमा बसेका थिए। करिब ६० हजार रुपैयाँ खर्च गरेर मेनपावर कम्पनीमार्फत कतार पुगेका उनले त्यहाँ पेन्ट पसलमा काम सुरु गरेका थिए। उनले मासिक करिब ३६ हजार रुपैयाँ तलब पाउने गरेका थिए।
कतारमा दैनिक करिब १२ घण्टा काम गर्नुपर्ने र लामो समय परिवारबाट टाढा बस्नुपर्ने भएपछि मियाँले आफ्नै गाउँ फर्किएर केही गर्ने सोच बनाए। पाँच वर्ष कतारमा काम गरेपछि स्वदेश फर्किएका उनले बचत गरेको रकमसँगै बैंकबाट ऋण लिएर आफ्नै जग्गा खरिद गरी घरसमेत निर्माण गरे।
स्वदेश फर्किएपछि उनले २०७५ सालदेखि लंगडीमा सेलर मिल सञ्चालन गर्दै आएका छन्। करिब २० लाख रुपैयाँ लगानीमा सञ्चालन भइरहेको सेलर मिलबाट उनले मासिक करिब ५० हजार रुपैयाँ आम्दानी गर्दै आएको बताए।
सेलर मिलमा धान, गहुँ, मकै, तेलहन तथा दालहनलगायत कृषि उत्पादनसँग सम्बन्धित सामग्रीको कारोबारसमेत हुने गरेको छ। व्यवसायको सुरक्षाका लागि उनले पसलमा सीसीटीभी क्यामेरासमेत जडान गरेका छन्।
विवाहित मियाँका एक छोरा र दुई छोरी छन्। उनका अनुसार आमाबुबा, भाइ तथा परिवारका अन्य सदस्यसहित करिब १७ जनाको परिवार छ।
विदेशमा लामो समय काम गर्दा परिवारबाट टाढा बस्नुपर्ने र दैनिक लामो समय काम गर्नुपर्ने अवस्था रहेको अनुभव सुनाउँदै मियाँले अहिले आफ्नै गाउँमा बसेर व्यवसाय गर्न पाउँदा सन्तुष्टि मिलेको बताए।
“विदेशमा १२ घण्टा काम गर्नुभन्दा आफ्नै घरमा बसेर ८ घण्टा मेहनत गरी आफ्नै व्यवसाय सञ्चालन गर्नु राम्रो रहेछ,” उनले भने।
वैदेशिक रोजगारीबाट फर्किएर गाउँमै व्यवसाय सञ्चालन गरेका मियाँको यात्राले विदेशबाट फर्किएपछि स्थानीय स्तरमै उद्यम तथा व्यापारमार्फत आयआर्जन गर्न सकिने सम्भावनालाई देखाएको छ। पाँच वर्ष विदेशमा बिताएर स्वदेश फर्किएका मियाँले विदेशको तुलनामा आफ्नै देशमा मेहनत गरेर व्यवसाय सञ्चालन गर्नु राम्रो लागेको बताए।
