काठमाडौं । हङकङमा सम्पन्न टी–२० सिरिजको फाइनलमा नेपाल कुवेतसँग ३ रनले पराजित भएको छ। मङ्कोकस्थित मिशन रोड मैदानमा सोमबार भएको रोमाञ्चक फाइनल खेलमा कुवेतले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपाल १७१ रनमा समेटियो ।
९२ रनमा ८ विकेट गुमाएको स्थितिबाट बसिर अहमद र नन्दन यादवले लक्ष्यनजिक पु¥याए पनि जित दिलाउन सकेनन् । बसिरले ४३ बलमा ८ चौका र ४ छक्का सहित ८० रन बनाए। अन्त्यतिर नन्दनले १४ बलमा ३७ रनको आक्रामक पारी खेले ।
यसअघि टस जितेर बलिङ रोजेको नेपालले कुवेतलाई निर्धारित २० ओभरमा १७४ रनमा रोकेको थियो । कुवेतका लागि रविजा सान्दारुवनले ३६ बलमा ६३ रन बनाए । नेपालका लागि सोमपाल कामी र नन्दन यादवले २–२ विकेट लिए। ब्याटिङमा नेपालको शुरूआत निराशाजनक रह्यो। टप अर्डरमा कुशल मल्ल र दीपेन्द्र सिंह ऐरी शून्य रनमा आउट भए भने कप्तान रोहित पौडेल पनि ७ रनमै पेभेलियन फर्किए।
विकेट नियमित अन्तरालमा झर्दै गएपछि दबाबमा परेको नेपाललाई बसिर र नन्दनले लयमा ल्याएका थिए । अन्तिम ओभरमा नेपाललाई जितका लागि ११ रन आवश्यक थियो। तर, बसिर अहमद १९.३ ओभरमा आउट भएपछि नेपालको जितको आशा चकनाचुर भयो। ४ देश सम्मिलित यस प्रतियोगितामा नेपाल उपविजेतामा सीमित रहन पुग्यो ।
