वीरगञ्ज । नेकपा माओवादी केन्द्रका अध्यक्ष र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई वीरगञ्जमा भव्य स्वागत गरिएको छ । उनी ‘जनतासँग माओवादी’ अभियानअन्तर्गत हुलाकी राजमार्ग केन्द्रित तराई–मधेस जागरण अभियानका लागि वीरगञ्ज पुगेका हुन् ।
वीरगञ्जका मेयर राजेशमान सिंहले पनि प्रचण्डलाई स्वागत गरेका छन् । मेयर सिंहले आज विहान प्रचण्डसँग भेटघाट गरी वीरगञ्जको समस्या बारे जानाकरी गराएका छन् । मर्निङ्गवाककै क्रममा वीरगञ्जको चर्चित चिया पसल बब्लु टी पसलमा चिया खाएका छन् ।
आज माओवादीले पर्सामा विभिन्न कार्यक्रमहरूको आयोजना गर्दैछ । बिहानै मर्निङ्गवाक कार्यक्रमसँगै जनतासँगको भेटघाटको कार्यक्रम तय गरिएको छ । बिहान ६:३० बजे चियापान र विचार गोष्ठीको कार्यक्रम हुनेछ भने त्यसपछि बिहान ९:०० बजे विभिन्न समूहगत छलफल र अन्तरक्रिया आयोजना गरिनेछ । कार्यक्रममा बिहान ११:३० बजे पत्रकार सम्मेलन पनि हुनेछ ।
कार्यक्रमको क्रममा विभिन्न बहुआयामिक प्रस्तुति, संगठनात्मक छलफल र समूहगत समीक्षा गरिने माओवादीका नेताहरूले बताएका छन् । विशेषतस् दिउँसो १:३० बजे पर्साको बहुअर्वाभाठामा जनसंवाद कार्यक्रम सञ्चालन हुने छ, जहाँ प्रचण्ड र अन्य नेताहरूले जनतासँग प्रत्यक्ष संवाद गर्नेछन् ।
कार्यक्रमको समापन साँझ ३:३० बजे पार्टी नेतृत्वको समीक्षा बैठकसँगै हुनेछ । नेकपा माओवादी केन्द्रका नेताहरूका अनुसार यो अभियान मधेशमा पार्टीलाई पुनः सशक्त बनाउनका लागि एक रणनीतिक कदमको रूपमा अघि बढाइएको हो ।



