बारा । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सुनिल गुप्ता ढुंगामुढा प्रकरणमा आइतबार पक्राउ परेका छन् । उनलाई समाजसेवी प्रशुराम गिरी को घरमा आक्रमण गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो ।
ढुंगामुढा घटना र प्रहरी अनुसन्धान
गत शुक्रबार राति, २०–२५ जनाको समूह गिरीको घरमा पुगेर ढुंगामुढा गरेको आरोप छ। घटनामा संलग्न भएको भन्दै प्रहरीले गुप्तालाई पक्राउ गरेको हो। बारा प्रहरी उपरीक्षक सन्तोष तमाङ का अनुसार गुप्तासँग हाल अनुसन्धान अघि बढाइएको छ।
यसै प्रकरणमा गिरीका नाति कुनाल गिरी र किशन गिरी माथि पनि अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता गरिएको छ। घटनासँग जोडिएका जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मनोज गुप्ता र वडा अध्यक्ष गुप्ताका दाजु अनिल गुप्ता भने जमानतमा छुटेका छन्।
प्रशुराम गिरीको परिवारले घटनाको सीसीटीभी फुटेज सार्वजनिक गर्दै दोषी पहिचान भइसकेको भए पनि प्रहरी प्रशासनले न्याय दिनुको सट्टा झन् पीडितलाई तनाव दिइरहेको गुनासो गरेका छन् । वडा अध्यक्ष गुप्ताविरुद्ध पुराना विवादहरू नेकपा एमालेबाट निर्वाचित गुप्ता यसअघि पनि विभिन्न विवादमा परेका थिए ।
उनले गरपालिका कार्यालय अगाडि फोहोर फालेर सेवाग्राहीलाई अवरोध गर्ने,पत्रकारलाई धम्क्याउने र अभद्र व्यवहार गर्ने,बारा जिल्ला अदालतबाट जरिवाना र कैदको फैसला भोगेका,जस्ता गतिविधिमा संलग्न रहेको आरोप लाग्दै आएको छ।
आक्रमणको समयमा आत्मरक्षाका लागि प्रशुराम गिरीले हवाई फायर गरेको बताएका छन्। उनका अनुसार, वडा अध्यक्ष गुप्ताको नेतृत्वमा आएको समूहले गालीगलौज गर्दै घरमा ढुंगामुढा गर्न थालेपछि उनले हतियार चलाएका थिए।
यता, वडा अध्यक्ष गुप्ताले भने आफू निर्दोष रहेको दाबी गरेका छन्। उनका अनुसार, प्रशुराम गिरीका नातिहरूले जितपुर बजारमा कलवार समुदायका व्यक्तिहरूलाई धम्क्याएको भन्दै आफू राति गिरीको घरमा कुरा बुझ्न गएका थिए। तर, उल्टै गिरी पक्षले ढुंगामुढा गर्दै बन्दुक चलाएको आरोप लगाएका छन् ।
बारा प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ। जिल्ला प्रशासन कार्यालय बाराले दुवै पक्षलाई छलफलमा बोलाए पनि समाधान निकाल्न सकेको छैन। घटनाबारे थप निर्णय आउन बाँकी छ ।
