वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट ठूलो मात्रामा लागू औषध चरेससहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा, वीरगञ्ज र बाराका तीन युवक रहेका छन् ।
पक्राउ पर्नेहरूमा पर्साको बिन्दबासिनी गाउँपालिका–३ का ३५ वर्षीय सरोज साह, वीरगञ्ज महानगरपालिका–११ का २३ वर्षीय रवि चौधरी, र बाराको कलैया उपमहानगरपालिका–२ भवानीपुरका २३ वर्षीय लडु राम छन् । प्रहरीले उनीहरूलाई शनिबार बेलुकी वीरगञ्ज महानगरपालिका–१५ ब्रम्हचोकबाट नियन्त्रणमा लिएको हो ।
विशेष सूचनाका आधारमा प्रहरी चौकी भिस्वाबाट खटिएको टोलीले ब्रम्हचोकस्थित डेरामा बसेका उनीहरूको कोठामा खानतलासी गर्दा प्लास्टिकमा बेरिएको १५ प्याकेट चरेस फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। बरामद चरेसको तौल ६ किलो ५९० ग्राम रहेको छ ।
हाल पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ । उनीहरूविरुद्ध लागू औषध (नियन्त्रण) ऐन २०३३ अनुसार कानुनी प्रक्रिया अघि बढाइने प्रहरी उपरीक्षक गौतम मिश्रले बताए ।
