वीरगञ्ज । पर्सा जिल्लाका ग्रामीण भेगका सेवाग्राहीलाई लक्षित गर्दै पोखरिया नगरपालिकामा भूमिसुधार तथा मालपोत र नापी कार्यालय सञ्चालन हुने भएको छ । संघीय मन्त्रिपरिषद्को पुस ९ गतेको निर्णयअनुसार, दुवै कार्यालय फागुन १२ गतेदेखि सञ्चालनमा आउने नापी कार्यालयका प्रमुख राकेशकुमार झाले जानकारी दिएका छन् ।
उनका अनुसार, कार्यालय सञ्चालन भएपछि पर्साका सात वटा पालिकाका सेवाग्राहीहरूलाई सेवा लिन वीरगञ्ज धाउनुपर्ने बाध्यता अन्त्य हुनेछ । नयाँ कार्यालयबाट पोखरिया नगरपालिका, विन्दबासिनी, कालिकामाई, धोबिनी, छिपहरमाई, जगरनाथ पुर, र पकहाँमैनपुर गाउँपालिकाका सेवाग्राही प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् । सेवा विस्तारसँगै नागरिकलाई जमिन नाप जाँच, नामसारी, रजिस्ट्री लगायतका कार्य सहज हुने बताइएको छ ।
