वीरगञ्ज । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको निजगढ नगरपालिका – ८ स्थित उनासी पुलमा आइतबार राति यात्रु बाहक बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ८ जना गम्भीर घाइते भएका छन् । काकडभिट्टाबाट दाङ तर्फ जाँदै गरेको ना ८ ख ११६४ नम्बरको बसको अगाडीको पट्टा भाचिएर अनियन्त्रित भई पुल देखि ८ मिटर तल खसेको हो ।
चालक र सहचालकसहित ४३ जना सवार उक्त बस दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । बस चालक दाङ देउखुरी गटवा गाउँपालिका–५ का ४५ वर्षीय चेतन राय यादवको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते बनेका यादवको वीरगञ्ज स्थित नेपाल मेडिसिटी बयोधा अस्पतालमा उपचारको क्रममा आज विहान मृत्यु भएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुशवाहाले जानकारी दिए ।
अन्य गम्भिर घाईते ७ जनालाई सोही अस्पतालमा उपचार भईरहेको कुशवाहाले बताए । दुर्घटनामा परेर मध्यम र समान्य घाईतेहरुको निजगढ स्थित सामुदायीक प्रसुती गृह अस्पताल र सिटी अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
प्रहरी निरिक्षक कुशवाहाका अनुसार १५ जना मध्यम र २० जना समान्य घाईते रहेका छन् । बसको अगाडीको पट्टा भाचिएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धान छ ।
