सिरहा । सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश यादवको पीडित परिवारलाई मधेस प्रदेश सरकारले पक्की घर निर्माण गरिदिने भएको छ ।
मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंह र मृतक यादवको परिवारबिच शुक्रबार साँझ भएको छलफल तथा सहमतिअनुसार दुई कोठा, एउटा भान्साघर र शौचालयसहितको पक्की घर निर्माण गरिदिने तय भएको हो ।
प्रदेश सरकारद्वारा सञ्चालित ‘विपन्नसँग मदन भण्डारी आवास योजना’अन्तर्गत मृतकको परिवारका लागि उक्त घर निर्माण गरिने सहमति पत्रमा उल्लेख छ ।
सुनसरीको देवानगन्ज घटनाको विरोधमा गत साउन १४ गते सिरहाको गोलबजारमा आयोजित प्रदर्शनका क्रममा गोली लागेर यादवको मृत्यु भएको थियो। मृतक परिवारको आर्थिक अवस्था अत्यन्तै नाजुक रहेकाले राहत तथा पुनर्स्थापनास्वरूप प्रदेश सरकारको तर्फबाट घर निर्माण गरिदिने निर्णय गरिएको मन्त्री सिंहले जानकारी दिए ।
