२७ साउन,वीरगञ्ज । सर्लाहीमा स्रोत खुल्न नसकेको ५१ लाख ३४ हजार रुपैयाँभन्दा बढी नगदसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा महोत्तरीको गौशाला नगरपालिका–१२ का करिब ५७ वर्षीय जगन्नाथ महतो कोईरी रहेका छन् । उनलाई सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–२ स्थित राजदेवी मन्दिर अगाडिबाट प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार भेल्हीबाट वयलबासतर्फ जाँदै गरेको ज.१० प ८६५२ नम्बरको स्कुटरलाई रोकेर चेकजाँच गर्ने क्रममा स्कुटरको डिक्की र कालो झोलाभित्र लुकाइछिपाई राखिएको नगद फेला परेको थियो ।
प्रहरीले कोईरीको साथबाट एक हजार रुपैयाँ दरका ३ हजार ५०० थान, पाँच सय रुपैयाँ दरका ३ हजार १०८ थान, एक सय रुपैयाँ दरका ७०० थान र ५० रुपैयाँ दरका २०० थान नोट बरामद गरेको जनाएको छ । बरामद रकमको कुल मूल्य ५१ लाख ३४ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।
मन्दिर अगाडिको सडकमा प्रहरीले स्कुटर रोक्न खोज्दा चालक कोईरी भाग्न खोजेका थिए । प्रहरीले पछ्याउने क्रममा स्कुटर अनियन्त्रित भई दुर्घटनामा परेको थियो । दुर्घटनामा कोईरी घाइते भएका छन् ।
घाइते कोईरीको मलंगवास्थित म्याक्स अस्पतालमा प्रहरीको निगरानीमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
कोईरीलाई नियन्त्रणमा लिने क्रममा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएका प्रहरी सहायक हवल्दार राजेशकुमार यादव र प्रहरी जवान रामचन्द्रसमेत सामान्य घाइते भएका थिए । उनीहरूको प्रादेशिक अस्पताल मलंगवामा उपचारपछि डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ ।
बरामद रकमको स्रोत तथा घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।
