वीरगञ्ज । मधेस प्रदेशमा ट्रान्सफर्मर चोरीका घटना बढ्दै जाँदा विद्युत् आपूर्ति, खानेपानी र सिँचाइ सेवा प्रभावित हुन थालेका छन्। नेपाल विद्युत् प्राधिकरण र प्रहरीका अनुसार चोरीका अधिकांश घटनामा ट्रान्सफर्मरभित्र रहेको तामाको क्वाइल निकालेर कवाडमा बिक्री गर्ने गिरोह सक्रिय रहेको पाइएको छ।
हालै महोत्तरीको बर्दिबास नगरपालिका–१२ बिजलपुरास्थित पञ्चधुरा खानेपानी आयोजनाको ट्रान्सफर्मर चोरी भएपछि करिब २०० घरधुरीमा खानेपानी सेवा अवरुद्ध भएको छ। त्यसैगरी धनुषाको मिथिला नगरपालिका–२ नक्टाझिजमा विद्यालय र खानेपानी आयोजनाका ट्रान्सफर्मर चोरी हुँदा ७०० घरधुरीमा पानी आपूर्ति बन्द भएको तथा विद्यालयसमेत प्रभावित भएको छ।
नेपाल विद्युत् प्राधिकरण गौशाला वितरण केन्द्रका प्रमुख इन्जिनियर उमेशप्रसाद यादवका अनुसार चोरहरूले ११ हजार भोल्टको विद्युत् लाइनलाई सर्ट गराएर ट्रान्सफर्मर तल झार्ने र त्यसभित्रको तामाको क्वाइल मात्र निकालेर लैजाने गरेका छन्। बाँकी ट्रान्सफर्मर भने पूर्ण रूपमा क्षतिग्रस्त हुने गरेको उनले बताए।
उनका अनुसार पछिल्लो दुई वर्षमा गौशाला वितरण केन्द्रअन्तर्गत मात्रै १७ वटा ट्रान्सफर्मर चोरी भएका छन्। प्रतिकिलो करिब ४ हजार रुपैयाँसम्ममा बिक्री हुने तामाको क्वाइलका लागि ट्रान्सफर्मर चोरी हुने गरेको उनको भनाइ छ।
नेपाल विद्युत् प्राधिकरण मधेस प्रदेशका प्रमुख इन्जिनियर शम्भु कुसियैत यादवले ट्रान्सफर्मर चोरीपछि प्रहरीमा उजुरी दिने गरिए पनि अधिकांश घटनामा संलग्न व्यक्ति कानुनी दायरामा आउन नसकेको बताए। उनका अनुसार १५ केभिएदेखि २०० केभिएसम्मका ट्रान्सफर्मर चोरी हुने गरेका छन्, जसको मूल्य २ लाखदेखि २५ लाख रुपैयाँसम्म पर्ने गर्दछ।
मधेस प्रदेश प्रहरी प्रमुख डीआईजी ओमप्रसाद अधिकारीले ट्रान्सफर्मर चोरी सामान्य चोरी नभई प्राविधिक ज्ञान भएका व्यक्तिहरूको संलग्नतामा संगठित रूपमा हुने गरेको बताए। पक्राउ परेकाहरूको अनुसन्धानबाट एउटै गिरोह सक्रिय रहेको र कतिपयले भारतीय नम्बर प्लेटका सवारीसाधनसमेत प्रयोग गर्ने गरेको खुलेको उनले जानकारी दिए।
प्रहरीका अनुसार आर्थिक वर्ष २०८२\८३ मा मधेस प्रदेशभर ५७ वटा ट्रान्सफर्मर चोरीका घटना भए पनि २२ वटा मात्रै मुद्दा दर्ता भएका छन्। ती घटनामा एक जना व्यापारीसहित १९ जना पक्राउ परेका छन्। महोत्तरीमा मात्रै २८ वटा ट्रान्सफर्मर चोरी भए पनि हालसम्म कुनै पनि मुख्य अभियुक्त पक्राउ पर्न सकेका छैनन्।
कृषि प्रयोजनका लागि जडान गरिएका डिप बोरिङका ट्रान्सफर्मर सबैभन्दा बढी चोरी हुने गरेका छन्। ट्रान्सफर्मर चोरीका कारण सिँचाइ सेवा अवरुद्ध हुँदा किसानले रोपेको धान सुक्न थालेको गुनासो गरेका छन्।
प्रहरी र विद्युत् प्राधिकरणले ट्रान्सफर्मर चोरी नियन्त्रणका लागि सुरक्षा निगरानी बढाउने, स्थानीय समुदायको सहयोग लिने तथा कवाड व्यवसायमाथि निगरानी कडा बनाउने तयारी गरिएको बताएका छन्।
