सिरहा । सशस्त्र प्रहरी बलको टोलीले सिरहा जिल्लाका विभिन्न सीमा क्षेत्रबाट चोरी-पैठारी गरी ल्याइएका करिब नौ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण हेडक्वार्टर सिरहाका अनुसार साउन २३ गते सीमावर्ती इलाकामा सञ्चालन गरिएको विशेष गस्ती तथा जाँचका क्रममा मोटरसाइकल, लत्ताकपडा, कस्मेटिक सामग्री, किराना सामान तथा विभिन्न ब्राण्डका मदिरा नियन्त्रण मा लिइएको हो ।
बरामद गरिएका सामानको कुल अनुमानित बजार मूल्य ८ लाख ९७ हजार ९ सय ७९ रुपैयाँ रहेको छ । नियन्त्रणमा लिइएका सबै सामग्रीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी दाखिलाका लागि भन्सार कार्यालय पठाउने तयारी भइरहेको गणले जनाएको छ ।
सीमा क्षेत्रमा हुने अवैध ओसारपसार, चोरी-पैठारी तथा सीमा अपराध नियन्त्रणलाई उच्च प्राथमिकतामा राख्दै सुरक्षा निकायले गस्ती, निगरानी र चेकजाँचलाई थप तीव्र बनाएको छ ।
सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सुमनजङ्ग थापाका अनुसार सीमा नाकामा हुनसक्ने गैरकानुनी गतिविधिलाई रोक्न सशस्त्र प्रहरीले चौबिसै घण्टा निगरानी बढाएको छ । अन्य सुरक्षा निकायहरूसँग समेत समन्वय गरी सीमा क्षेत्रमा नियमित गस्ती, चेकजाँच र सुराकी अपरेसनलाई निरन्तरता दिइने एसपी थापाले बताए ।
