२७ साउन,काठमाडौं । इन्डोनेसियाको पश्चिम नुसा तेङ्गारा प्रान्तअन्तर्गत लोम्बोक टापुको समुद्री क्षेत्रमा बुधबार यात्रुवाहक डुङ्गामा आगलागी हुँदा डुङ्गामा सवार ११२ जनाको उद्धार गरिएको छ ।
स्थानीय अधिकारीहरूका अनुसार ‘पुत्री यास्मिन’ नामक डुङ्गा बालीबाट लोम्बोकतर्फ गइरहेका बेला समुद्रमा आगलागी भएको हो । आगलागीपछि उद्धारका लागि विभिन्न निकाय परिचालन गरिएको थियो ।
स्थानीय सञ्चारमाध्यमका अनुसार नजिकै रहेको अर्को डुङ्गाले ३६ जनालाई उद्धार गरी बालीतर्फ ल्याएको थियो । त्यस्तै, खोज तथा उद्धार एजेन्सीको जहाजले ५९ जना र नौसेनाको जहाजले थप १७ जनालाई पानीबाट उद्धार गरेको जनाइएको छ ।
डुङ्गामा ११४ जना यात्रु र १७ जना चालक दलका सदस्य गरी कुल १३१ जना सवार रहेको अधिकारीहरूलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
