एजेन्सी । दक्षिण भारतको केरलाको वायनाडमा भारी वर्षाका कारण बाढी र पहिरोमा परी ठूलो मात्रामा हताहति भएको छ । चार फरक ठाउँमा पहिरो जाँदा चार गाउँ बगेका छन् भने घर, पुल सडक तथा गाडीहरुसमेत बगेका छन् ।
अहिलेसम्म ६३ जनाको मृत्यु भइसकेको छ भने १ सय १६ लाई अस्पताल पुर्याइएको र ४०० बढी मानिसहरु बेपत्ता भएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले जनाइएको छ ।
सोमबारदेखि भएको वर्षाका कारण मंगलबार सबेरै घटना भएको जनाइएको छ । उद्धार र खोजी कार्य जारी छ । उद्धारका लागि एसडिआरएफ र एनडीआरएफको टिम खटिए पनि उद्धार कार्य सहज रुपमा हुन सकिरहेको छैन । उद्धारका लागि ठूलो मात्रामा आर्मीहरुको परिचालनसमेत गरिएको भए पनि खराब मौसमका कारण उद्धारमा समस्या भइरहेको जनाइएको छ ।
उद्धारकर्ताहरुसँगै ठूलो मात्रामा मेडिकल टिमसमेत परिचालन गरिएको जनाइएको छ । त्यस्तै, उद्धारका लागि एयरफोर्सका हेलिकप्टरहरु परिचालन गरिएको छ । तर, वर्षा नरोकिएकाले हेलिकप्टरहरु उद्धार गर्नुपर्ने ठाउँसम्म पुग्न सकिरहेका छैनन् ।
त्यस्तै, एक महत्वपूर्ण पुल भत्किएका कारण उद्दारमा समस्या परेको छ । केरलाका मन्त्री एके शशीन्द्रनले क्षतिको आँकलन गर्न अझै समय लाग्ने बताएका छन् ।
५ वर्षअघि पनि यो ठाउँमा पहिरो जाँदा १७ बढी मानिसको मृत्यु भएको थियो । २०१९ मा पनि भिषण वर्षाका कारण पहिरो गएको थियो । जसमा १७ को मृत्यु हुँदा ५२ घर भत्किएका थिए भने ५ जना बेपत्ता भएका थिए । मौसम विभागका अनसार वायनाडमा आज पनि भिषण वर्षाको सम्भावना रहेको छ । मल्लपुरम र कसारागोडमा पनि रेड अलर्ट जारी गरिएको छ ।



