२० असोज, काठमाडौँ । नाइजेरियाको दक्षिणपश्चिमी ओन्डो राज्यमा एक सैन्य विमान दुर्घटना हुँदा विमानमा सवार सबै ३२ जनाको ज्यान गएको छ । नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले सोमबार उक्त दुखद् दुर्घटना र जनधनको क्षतिको पुष्टि गरेका हुन् ।
उड्डयन तथा एरोस्पेस विकासमन्त्री फेस्टस केयामोका अनुसार २५ जना यात्रु र ७ जना चालक दलका सदस्य गरी कुल ३२ जना सवार उक्त दुई इन्जिनयुक्त टर्बोप्रप सैन्य विमान ओन्डो राज्यको नदी किनारमा अवस्थित इग्बोकाडा समुदायको नौसैनिक आधार नजिकै दुर्घटनाग्रस्त भएको थियो ।
उक्त विमान दक्षिणी नाइजेरियाको बेनिन शहरबाट लागोसतर्फ नियमित उडानमा रहेको समयमा दुर्घटनामा परेको नाइजेरियाली वायुसेनाले जनाएको छ ।
राष्ट्रपति टिनुबुले एक शोक विज्ञप्ति जारी गर्दै यस घटनालाई सशस्त्र बल र सिङ्गो राष्ट्रका लागि अत्यन्तै दुःखद् क्षणका रूपमा वर्णन गरेका छन् । देशका लागि जीवन उत्सर्ग गर्ने वायुसेनाका सदस्यहरूको बलिदान राष्ट्रले सधैँ स्मरण गरिरहने उल्लेख गर्दै उनले दुर्घटनालगत्तै द्रुत गतिमा खोज तथा उद्धार कार्यमा खटिएकोमा वायुसेनाको प्रशंसा गरेका छन् । दुर्घटनाको प्राविधिक कारणबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।
