कार्तिक,१९ वीरगन्ज । सुन्तलाको भन्सार प्रज्ञापनपत्र देखाएर केराको अवैध ढुवानी भइरहेको प्रकरणले अहिले भन्सार जाँचपास प्रणालीमाथि नै गम्भीर प्रश्न खडा गरेको छ। वीरगन्ज भन्सारबाट जाँचपास भई काठमाडौं पुगेको भारतीय नम्बर प्लेटको ट्रक जडीबुटी प्रहरीले नियन्त्रणमा लिएपछि यो प्रकरण थप रहस्यमय बन्दै गएको छ।
आरोही इन्टरप्राइजेज, वीरगन्ज महानगरपालिका–२५ श्रीसियाको नाममा जाचपास भइ UP 25 FT 3659 नम्बरको भारतीय ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाएको थियो। त्यसपछि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा समेत उक्त ट्रकको जाँचबुझ प्रक्रिया अघि बढाइएको छ।
प्राप्त विवरणअनुसार ट्रकको जाँच गर्दा ४०० क्यारेट सुन्तला र २०० क्यारेट केरा फेला परेको बताइएको छ। प्रतिक्यारेट १९ किलोका दरले ४०० क्यारेट सुन्तलाको तौल ७ हजार ६०० किलो अर्थात् ७.६ मेट्रिक टन।
त्यस्तै, अरको क्यारेटमा करिब ९ दर्जनका २०० क्यारेटमा करिब १ हजार ८०० दर्जन केरा।
प्रारम्भिक विवरणअनुसार बाहिरी भागमा सुन्तला राखेर बीचमा केरा लुकाइएको अवस्थामा ढुवानी गरिएको छ। यसरी भन्सार कागजातमा एउटा वस्तु देखाएर अर्को वस्तु भित्र्याइएको हो भने यो सामान्य कागजी त्रुटि मात्र नभई भन्सार जाँचपास प्रक्रियामाथिकै गम्भीर प्रश्न हो।
नेपालमा प्रतिबन्धित रहेको भनिएको केराको आयात यसरी भन्सार प्रक्रिया पूरा गरेर कसरी सम्भव भयो? भन्सार प्रज्ञापनपत्रमा सुन्तला उल्लेख हुँदा ट्रकभित्र केरा कसरी प्रवेश गर्यो? भौतिक जाँचका क्रममा यो विषय किन पहिचान हुन सकेन?
के यो सम्बन्धित निकायलाई जानकारी नदिई गरिएको कारोबार हो वा कतै मिलेमतोमा यस्तो काम भएको हो? यी प्रश्नहरूको जवाफ अनुसन्धानबाट आउन बाँकी छ।
यो प्रकरणमा सबैभन्दा चासोको विषय अर्को छ।
प्राप्त सूचनाअनुसार आरोही इन्टरप्राइजेजकै थप दुई भारतीय नम्बर प्लेटका ट्रक MH30CE0083 र UK04CC2831 पनि वीरगन्ज भन्सार परिसरमै रोकिएका छन्।
यी दुवै ट्रकले भन्सार प्रक्रिया पूरा गरी गेटपाससमेत प्राप्त गरिसकेको बताइएको छ। तर काठमाडौंमा पहिलो ट्रक समातिएको खबर सार्वजनिक भएपछि ती दुई ट्रकलाई पनि वीरगन्ज भन्सार परिसरमै पार्किङमा राखिएको स्रोतको दाबी छ।
स्रोतका अनुसार ती ट्रकमा पनि केरासहित अन्य फलफूल रहेको र वास्तविक तौलभन्दा कम तौल देखाएर भन्सार प्रक्रिया पूरा गरिएको हुन सक्ने आशंका छ। ट्रक वरपर तत्काल कोही नदेखिने गरी राखिएको अवस्थाबारे समेत एक भन्सार कर्मचारीले जानकारी दिएको बताइएको छ।
उक्त विषयमा वीरगन्ज आईसीपीले पनि निगरानी राखेको र ती दुई ट्रकको जाँच प्रक्रिया यथाशीघ्र अघि बढाउने तयारी भइरहेको स्रोतको भनाइ छ।
एउटा ट्रक काठमाडौं पुगेर प्रहरी नियन्त्रणमा परेपछि मात्र यो प्रकरण सार्वजनिक भएको हो। तर, सोही व्यवसायसँग सम्बन्धित थप दुई ट्रकले पनि भन्सार जाँचपास र गेटपास प्राप्त गरिसकेको अवस्थामा भन्सार कार्यालयको जाँच प्रणाली कति प्रभावकारी छ भन्ने प्रश्न उठेको छ।
कागजमा सुन्तला, ट्रकमा केरा! वास्तविक तौलभन्दा कम तौल देखाएर भन्सार राजस्वमा समेत असर पारिएको देखिन्छ।
हाल नियन्त्रणमा रहेको ट्रकका चालक धनिराम राजपुत रहेको र उनी भारतको उत्तर प्रदेशस्थित हरदोई जिल्लाका बासिन्दा रहेको विवरण छ।
भन्सार प्रक्रियाअनुसार जफत भएका सुन्तला तथा केराको आवश्यक कागजी प्रक्रिया पूरा भएपछि लिलामी गरिने बताइएको छ। तर, लिलामी प्रक्रिया अगाडि बढ्दैमा यो प्रकरणको मूल प्रश्न समाप्त हुँदैन।
सुन्तलाको प्रज्ञापनपत्रमा केरासमेत राखेर भन्सार जाँचपास कसरी भयो?
वास्तविक तौलभन्दा कम तौल देखाइएको हो भने त्यसको जिम्मेवारी कसले लिने?
काठमाडौंमा समातिएको ट्रकसँगै थप दुई ट्रकले कसरी गेटपास पाए?
ती दुई ट्रकमा पनि प्रतिबन्धित भनिएको केरा र बढी परिमाणमा फलफूल रहेको आशंका सत्य हो कि होइन?
यो सम्पूर्ण प्रक्रिया सामान्य लापरबाही हो वा संगठित मिलेमतो?
वीरगन्ज भन्सार कार्यालय, वीरगन्ज आईसीपी र सम्बन्धित अनुसन्धान निकायले अब यी प्रश्नको स्पष्ट जवाफ दिन आवश्यक छ।
एउटा ट्रक समातियो भन्दैमा प्रकरण सकिँदैन। बाँकी दुई ट्रकको निष्पक्ष जाँच, भन्सार कागजातको परीक्षण, तौलको यकिन र जाँचपासमा संलग्न कर्मचारी तथा व्यवसायीको भूमिकासमेत अनुसन्धानको दायरामा आउनुपर्छ।
आखिर सुन्तलाको नाममा केरा भित्र्याउने यो खेल कसरी चल्यो? भन्सारको ढोका पार गराउने प्रक्रियामा को–को जोडिएका छन्? अब सबैको नजर अनुसन्धानको निष्कर्षमा छ।
