काठमाडौं । सिरहाको भलुवाहीमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको छ । बिहीबार बिहान चौहर्वा–सिरहा सडक खण्डअन्तर्गत सिरहा नगरपालिका–११ स्थित भलुवाहीमा भएको यस भीषण दुर्घटनामा ज्यान गुमाउनेहरूको हालसम्म पहिचान खुल्न सकेको छैन ।
प्रहरीका अनुसार चौहर्वाबाट सिरहातर्फ जाँदै गरेको विद्युत् प्राधिकरण मधेश प्रदेश प्रादेशिक कार्यालय जनकपुरको ‘ना.१ घ.५५३’ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ‘स.९ प.७६५०’ नम्बरको मोटरसाइकल तीव्र रफ्तारमा एकआपसमा ठोक्किएका थिए । दुर्घटनामा परी गम्भीर घाइते भएका दुवै पुरुषलाई उपचारका लागि प्रादेशिक अस्पताल सिरहा पुर्याइएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।
दुर्घटनालगत्तै ट्रक चालक मौकेबाट फरार भएकाले उनको तीव्र खोजी भइरहेको प्रहरीले जनाएको छ । साथै, दुर्घटनामा ज्यान गुमाएका मृतकहरूको पहिचान खुलाउन र आफन्तहरूको खोजी गर्ने कार्यसमेत तीव्रताका साथ अघि बढाइएको छ भने संलग्न दुवै सवारीसाधनलाई नियन्त्रणमा लिई कार्यालयतर्फ ल्याउने तयारी भइरहेको छ ।
