१९ कात्तिक, काठमाडौं । नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्की आफ्नो पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालत पुगेका छन् ।
सरकारले आफूलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा गर्ने र डा. मनोजकुमार केसीलाई नयाँ आईजीपी नियुक्त गर्ने निर्णयविरुद्ध कार्कीले सर्वोच्चमा रिट दायर गरेका हुन् ।
बुधबार बसेको मन्त्रिपरिषद्को निर्णयलगत्तै डा. मनोज केसीले प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन् भने सरकारको उक्त निर्णय गैरकानूनी रहेको जिकिर गर्दै कार्की अदालतको ढोका घकघकाउन पुगेका हुन् । कार्की निकट अधिवक्ता टीकाबहादुर कुँवरका अनुसार आईजीपी नियुक्तिविरुद्धको रिट हाल दर्ताको प्रक्रियामा रहेको छ ।
सुरक्षा संगठनको सर्वोच्च पदबाट हटाइएका कार्कीले पुनः आफ्नो नेतृत्वको दाबी गर्दै अदालतमा कानुनी लडाइँ सुरु गरेसँगै यस विषयले प्रहरी संगठन र राजनीतिक वृत्तमा नयाँ चर्चा पाएको छ ।
