काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बोक्सी प्रथा संघीय लोकतान्त्रिक गणतन्त्रको लागि ठूलो चुनौतिको रुपमा रहिरहेको बताउनुभएको छ । मंगलबार काठमाडौंमा आयोजित चलचित्र अग्निदहनको पोस्टर सार्वजनिक कार्यक्रममा उहाले यस्तो बताउनुभएको हो ।
उहाले राजनीतिक, आर्थिक क्रान्तिसँगै अब समाजमा सांस्कृतिक क्रान्तिको आवश्यकता रहेको बताउनुभयो । मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण अभियानले सरकारले गर्नुपर्ने भन्दा पनि महत्वपूर्ण काम गरिरहेको भन्दै मन्त्री गुरुङले बताउनुभयो ।
मन्त्री गुरुङले बोक्सी प्रथासँगै हली, छोउपडी, हरुवा चरुवालगायतका प्रथाहरु अहिले पनि रहेको उल्लेख गर्नुभयो । समाजमा देखिएका सामन्तवादको अवशेषलाई सवै मिलेर अन्तय गर्नुपर्नेमा उहाले जोड दिनुभयो ।
समाजमा रहेको कुप्रथाहरुलाई अन्य गर्ने अभियानमा सबै सचेत वर्गहरु लाग्नुपर्ने उहाको भनाइ छ । उहाले मान्छे बोक्सी हुन्न कहिल्यै जागरण अभियानका लागि नेपाल सरकारको पनि सहभागिता र समर्थन रहने बताउनुभयो ।
