वीरगंज, ८ असोज । वीरगंज महानगरपालिकाले मुख्य सडक विस्तारसँगै विद्युत् वितरण प्रणालीलाई भूमिगत गर्न आवश्यक बजेट तत्काल विनियोजन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग माग गरेको छ।
महानगर प्रमुख राजेशमान सिंहले मन्त्रालयलाई पत्र पठाउँदै सडक विस्तारपछि पुनः ओभरहेड प्रणालीबाट विद्युत्का तार राख्दा भविष्यमा सडक मर्मत, विस्तार, यातायात व्यवस्थापन तथा शहरी सौन्दर्यीकरणमा समस्या आउने भएकाले अहिले नै भूमिगत विद्युत् प्रणाली निर्माण गर्न आग्रह गरेका हुन्।
सिंहले सडक विस्तारको सुरुवातदेखि नै विस्तारपछि बन्ने मुख्य सडकखण्डमा विद्युत् प्रणाली भूमिगत बनाउन माग गर्दै आएका थिए। तर डिभिजन सडक कार्यालय, हेटौंडाले सडकको नयाँ डिजाइनमा विद्युत्का तार हालकै ओभरहेड प्रणालीबाट व्यवस्थापन गर्ने योजना रहेको जानकारी गराएपछि महानगरले पुनः भूमिगत प्रणालीका लागि पहल गरेको हो।
त्रिभुवन राजपथअन्तर्गत गण्डक–घण्टाघर–भन्सार सडकखण्डको दायाँ–बायाँ २५/२५ मिटर विस्तारको काम अन्तिम चरणमा पुगेको अवस्थामा सडकसँगै विद्युत् प्रणाली पनि भूमिगत गर्नुपर्ने महानगरको धारणा छ।
महानगरका अनुसार वीरगंज मुलुककै प्रमुख औद्योगिक, व्यापारिक तथा सीमावर्ती शहर भएकाले मुख्य सडकलाई दीर्घकालीन रूपमा आधुनिक, सुरक्षित, व्यवस्थित र सुन्दर बनाउन भूमिगत विद्युत् प्रणाली आवश्यक छ। यसबाट सडकमा रहेका विद्युत्का पोल तथा तार हट्नुका साथै सडकको सौन्दर्य र विद्युत् प्रणालीको सुरक्षामा समेत सुधार आउने अपेक्षा गरिएको छ।
महानगर प्रमुख सिंहले सम्बन्धित मन्त्रालय तथा निकायबीच आवश्यक समन्वय गरी भूमिगत विद्युत् प्रणाली निर्माणका लागि बजेट सुनिश्चित गर्न र सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिन ऊर्जा मन्त्रालयसमक्ष आग्रह गरेका हुन् ।
