सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिका–९, बसन्तपुरमा अज्ञात समूहको सांघातिक आक्रमणबाट एक वृद्ध दम्पती गम्भीर घाइते भएका छन् । गएराति आफ्नै घरमा सुतिरहेको अवस्थामा अज्ञात समूहले इँटा प्रहार गर्दा स्थानीय ७० वर्षीय शुकदेव साह र उनकी श्रीमती जिब्छी साह गम्भीर घाइते भएका हुन् ।
स्थानीय बासिन्दाका अनुसार मध्यराति घरभित्र पसेको आक्रमणकारी समूहले सुतिरहेका दम्पतीको टाउको र अनुहारमा निर्ममतापूर्वक इँटाले प्रहार गरेको थियो । आक्रमणबाट रगताम्य भएका दुवै जनालाई स्थानीयको सहयोगमा तत्काल उद्धार गरी उपचारका लागि जनकपुरधाम पठाइएको थियो ।
गाउँमै सानो किराना पसल सञ्चालन गर्दै आएका साह दम्पतीको हाल जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। टाउको र अनुहारमा गहिरो चोट लागेका कारण दुवै जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको स्थानीय रवीन्द्र यादवले जानकारी दिए ।
हरिपुर्वा नगरपालिका–८ का वडाध्यक्ष रमेश यादवले घटना अत्यन्तै क्रूर र रहस्यमय भएको बताउँदै दम्पतीमाथि के कारणले आक्रमण गरियो भन्ने विषय अझै खुल्न नसकेको बताए ।
यता, जिल्ला प्रहरी कार्यालय सर्लाहीले घटनाको सूक्ष्म अनुसन्धान सुरु गरिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमले घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा खटिएको बताए ।
“सुतिरहेको अवस्थामा वृद्ध दम्पतीमाथि अज्ञात समूहले आक्रमण गरेको प्रारम्भिक जानकारी आएको छ,” डीएसपी गौतमले भने, “प्रहरी टोली घटनास्थलमा पुगेर मुचुल्का तथा प्रमाण संकलन गरिरहेको छ। विस्तृत अनुसन्धानपछि मात्रै दम्पतीमाथि कसले र कुन उद्देश्यले आक्रमण गरेको हो भन्ने खुल्नेछ।”
लुटपाटको उद्देश्यले वा व्यक्तिगत रिसइबीका कारण आक्रमण भएको हो भन्ने कोणबाट प्रहरीले अनुसन्धान अघि बढाएको छ । घटनापछि बसन्तपुर क्षेत्रका स्थानीय बासिन्दा त्रसित बनेका छन् ।
