काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २७२ वटा प्राकृतिक तथा अन्य विपद्का घटना घटेका छन् । विपद्का कारण २१ जनाको ज्यान गएको छ भने ४ जना अझै बेपत्ता रहेका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार सो अवधिमा विपद्मा परेका १ हजार १८१ जनाको सकुशल उद्धार गरिएको छ। उद्धार तथा व्यवस्थापन कार्यलाई तीव्र बनाउन देशभर १ हजार ४८२ जना नेपाल प्रहरीका जवान तथा अधिकृतहरू परिचालन गरिएको छ ।
प्राधिकरणको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा ३७ वटा पहिरो, ३२ वटा अविरल वर्षा, २१ वटा बाढी, ११ वटा सर्पदंश, ७ वटा आगलागी, ७ वटा हावाहुरी, ४ वटा वन्यजन्तु आक्रमण र १ वटा हिमपातका घटना दर्ता भएका छन् । यी घटनाहरूमा परी २६ जना घाइते भएका छन् भने बेपत्ता ४ जनाको खोजी कार्य जारी छ ।
लगातारको बाढी, पहिरो र वर्षाका कारण देशभरका ४८ वटा प्रमुख तथा सहायक सडकखण्डहरू अवरुद्ध बनेका छन् । सडक अवरुद्ध हुँदा देशका विभिन्न भागमा सवारी आवागमन र जनजीवन प्रभावित बनेको छ ।
यसैगरी, विपद्का कारण देशभर १२१ वटा चौपायाको क्षति भएको छ । प्रभावित क्षेत्रमा सडक खुलाउने र उद्धार कार्यलाई निरन्तरता दिने काम भइरहेको प्राधिकरणले जनाएको छ ।
