२९ कात्तिक, वीरगञ्ज । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल लोकआस्थाको महापर्व छठको अवलोकन गर्न तथा स्थानीय सरोकारवालाहरूसँग भेटघाटका लागि बारा र पर्साको दुईदिने भ्रमणमा आएका छन् ।
सभामुखको सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार उनले आज कार्तिक २९ गते आइतबार बाराको सिमरादेखि पर्साको वीरगञ्जसम्मका विभिन्न धार्मिक, सामाजिक तथा व्यावसायिक कार्यक्रमहरूमा सहभागिता जनाउनेछन् ।
भ्रमण तालिकाअनुसार सभामुख अर्यालले आज बिहान ७:३० बजे स्थानीय बासिन्दाहरूसँग भेटघाट तथा समसामयिक विषयमा छलफल गरेका छन् । बिहान ९:०० बजे बारातर्फ प्रस्थान गरेका उनले ९:४५ देखि १०:१५ बजेसम्म सिमरा–४ स्थित नवनिर्मित औराहा कृष्ण प्रणामी मन्दिरको अवलोकन गर्ने कार्यक्रम छ । त्यसलगत्तै १०:३० देखि ११:१५ बजेसम्म सिमरास्थित क्लासिक होटलमा स्थानीय अगुवा तथा शुभेच्छुकहरूसँग भेटघाट गर्ने कार्यतालिका रहेको छ ।
बाराको कार्यक्रम सम्पन्न गरी सभामुख अर्याल बिहान ११:४५ बजे पर्साको वीरगञ्जतर्फ प्रस्थान गर्नेछन् । वीरगञ्ज पुगेर दिउँसो १२:३० बजे उनले वीरगञ्ज उद्योग वाणिज्य संघका पदाधिकारीहरूसँग भेटघाट तथा आर्थिक एवं औद्योगिक विषयमा छलफल गर्नेछन् । यस्तै, दिउँसो १:३० बजे स्थानीय स्तरको अर्को भेटघाट कार्यक्रममा सहभागी हुने तालिका छ ।
दिउँसो २:१५ बजेदेखि सभामुख अर्याल छठ पर्वको मुख्य दिन अर्थात् अस्ताउँदो सूर्यलाई अर्घ्य दिने विभिन्न छठघाट तथा विशेष महाआरती कार्यक्रममा सरिक हुनेछन् । यस क्रममा उनले वीरगञ्जको ऐतिहासिक घडिअर्वा पोखरी, नगवा पोखरी, वीरगञ्ज–१६, इटियाही सानो टोल, धोबीघाट, परवानीपुर गाउँपालिका–३, जितपुर, लालका पुल छठघाट तथा मुर्लीमा आयोजना हुने भव्य महाआरती कार्यक्रममा सहभागिता जनाउनेछन् ।
भ्रमणको दोस्रो दिन भोलि कार्तिक ३० गते सोमबार बिहान ५:३० बजे सभामुख अर्याल वीरगञ्जको रानीघाटमा पुगेर उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्ने कार्यक्रममा सहभागी हुनेछन् । पूजाअर्चनापछि बिहान ७:०० बजे स्थानीय बासिन्दासँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।
पर्सा र बाराको भ्रमण पूरा गरी सभामुख अर्याल भोलि बिहान १०:०० बजे रौतहट, सर्लाही, महोत्तरी तथा सिन्धुलीको बाटो हुँदै सङ्घीय राजधानी काठमाडौँ प्रस्थान गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।
