वीरगंज, २८ पर्सा । विहिबार मकवानपुरको भीमफेदी गाउँपालिका–स्थित चिसापानी गढीमा विद्युतीय सवारी साधन (ईभी) अनियन्त्रित भई भीरबाट खस्दा १४ जनाको ज्यान गएको छ । छठ पर्व मनाउन काठमाडौंंबाट आफ्नो घर सर्लाही आउदै गरेका यात्रु सवार माइक्रोबस दुर्घटनामा पर्दा आठ महिनाकी गर्भवती महिला र ३ बालिका सहित एउटै परिवारका ६ जनाले ज्यान गुमाए ।
यसअघि कार्तिक ७ गते सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ स्थित बाँके जङ्गलमा ट्रक र यात्रुवाहक विद्युतीय गाडी (ईभी) आपसमा ठोक्किँदा १२ जना घाइते भएका थिए ।
त्यसतै भदौ २६ गते भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोकमा गुडिरहेको जीएसी आयोन ब्रान्डको ईभी कारमा अचानक आगलागी हुँदा कारभित्र जलेर ५६ वर्षीय चालक अमर पराजुलीको मृत्यु भएको थियो । आगलागीबाट कार पूर्ण रूपमा जलेर क्षतिग्रस्त भएको थियो ।
यसैगरि २१ असोजमा वीरगन्जको नयाँ बसपार्क क्षेत्रमा अनियन्त्रित भएको इभीको ठक्करबाट ४५ वर्षीया रीमा गुप्ताको घटनास्थलमै मृत्यु भएको थियो ।

यी घटनाहरुले पछिल्लो समय विद्युतीय सवारी साधनको सुरक्षामाथि गम्भीर प्रश्न खडा गरिदिएका छन् । सडकमा विद्युतीय सवारी अनियन्त्रित हुने र आगलागी हुने घटना बढ्दै जाँदा आम जनमानसमा ईभी परम्परागत सवारीभन्दा बढी जोखिमपूर्ण हुन्छ कि भन्ने संशय उत्पन्न भएको छ । विद्युतीय सवारी साधन (ईभी) अनियन्त्रित भई दुर्घटनामा पर्ने र आगलागी हुने घटना बढेपछि यसको सुरक्षामाथि प्रश्न उठेको छ ।
नेपालमा पछिल्लो समय विद्युतीय सवारीको प्रयोग तीव्र रूपमा बढेको छ । सञ्चालन खर्च निकै कम हुने र भाडादर समेत तुलनात्मक रूपमा सस्तो पर्ने भएकाले निजी मात्र नभई सार्वजनिक यातायात र दुईपाङ्ग्रेमा समेत ईभीप्रति आकर्षण बढेको छ । तर, लगातारका दुर्घटनाले के ईभी साँच्चिकै बढी जोखिमयुक्त हो? नेपालजस्तो पहाडी भूगोल, उकालो–ओरालो र कच्ची सडकमा यो कत्तिको सुरक्षित छ? भन्ने प्रश्न सतहमा ल्याएको छ ।
के छन् ईभी दुर्घटनामा पर्ने कारणहरु ?
ईभीमा रहने ’इमर्जेन्सी एग्जिट’, ढोका खुल्ने प्रणाली, विद्युतीय अलगाव, र ब्याट्रीमा आगलागी हुने समस्या जस्ता विषयमा प्राविधिक मूल्याङ्कन र मापदण्डको अभाव देखिएको छ । अधिकांश दुर्घटनामा गाडीको मात्र गोष नभई चालकको अनुभवहीनता, अपर्याप्त तालिम र चरम लापरवाही मुख्य कारणका रूपमा देखिएका छन् । नेपालमा ईभीको बजार द्रुत गतिमा बढे पनि मर्मतका लागि दक्ष प्राविधिकको कमिले पनि जोखिम निम्ताएको छ ।

ईभी किन अनियन्त्रित हन्छ ।
ईभी दुर्घटनामा चालकले एक्सिलेटर थिच्दा गाडी अचानक ह्वात्तै अगाडि हुत्तिने र अनियन्त्रित भई ठोकिने समस्या प्रमुख कारणका रूपमा देखिएको छ । विद्युतीय सवारी साधन (इभि) अचानक हुत्तिनुका मुख्य कारणहरू ’इन्स्ट्यान्ट टर्क’ र चालकको पेडल गल्ती (एभमब िःष्कबउउष्अिबतष्यल० हुन् । पेट्रोल वा डिजेल गाडीको तुलनामा ईभीमा एक्सिलेटर थिच्नासाथ मोटरले शतप्रतिशत शक्ति तुरुन्तै पाङ्ग्रामा पठाउने भएकाले गाडी एकैचोटि जोडले अगाडि बढ्छ । पेट्रोल वा डिजेल गाडी चलाउने बानी परेका चालकले अपर्याप्त तालिम बिना ईभीमा पनि त्यसरी नै जोडले एक्सिलेटर थिच्दा गाडी अनियन्त्रित भएर हुत्तिने गर्छ ।
के हो ईभीमा आगो लागने कारण ?
ब्याट्रीको तापक्रम अत्यधिक बढेपछि त्यहाँ भएको चेन रियाक्सनका कारण आगो तीव्र रूपमा फैलन्छ । ब्याट्री मात्र नभई केबिनका तारहरू, १२ भोल्ट प्रणाली वा बाहिरी विद्युतीय उपकरणमा आएको समस्याले पनि आगलागी हुन सक्छ । गाडी धेरै तातेको अवस्थामा वा गुणस्तरहीन चार्जर प्रयोग गरी चार्ज गर्दा जोखिम बढाउँछ । ईभीमा आगलागी हुनुका मुख्य कारण ब्याट्रीको आन्तरिक खराबी वा सर्ट सर्किट हो, जसलाई निभाउन कठिन हुने गर्दछ ।

बाटोमा कति उपयुक्त ?
थोरै गतिमै उच्च टर्क दिने भएकाले नेपालको उकालो सडकमा ईभी निकै सहज साबित हुन्छ । तर कच्ची र खाल्डाखुल्डी सडकमा ईभीलाई संवेदनशील मानिन्छ । गाडीको तल्लो भाग (अन्डरबडी) मा ब्याट्री राखिएको हुनाले ढुङ्गा वा जमिनमा ठोक्किँदा ब्याट्रीमा गम्भीर क्षति पुग्न सक्छ ।
जोखिम घटाउन क गर्ने ?
विद्युतीय सवारीसाधन दुर्घटनाको जोखिम घटाउन चालकको सचेतना, नियमित मर्मतसम्भार र सवारीको विशेष प्रविधिअनुसारको ड्राइभिङ शैली अपनाउनु आवश्यक हुन्छ । परम्परागत पेट्रोल÷डिजेल गाडीबाट इभीमा सिफ्ट हुँदा सुरुवाती दिनमा खाली वा सुरक्षित ठाउँमा गाडीको पिकअप र ब्रेकिङको राम्रो अभ्यास गर्नुपर्ने हुन्छ । सर्ट सर्किट वा आगलागीको जोखिम घटाउन सधैँ प्रमाणित चार्जर मात्र प्रयोग गर्नुपर्छ ।
